Logo

वामदेव गौतम भेट्न प्रधानमन्त्री ओली पत्नी राधिकासहित भैसेंपाटी पुगे, ‘डिनर’ सँगै



काठमाडौं, १३ साउन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी पुगेका छन् । उनी आज साँझ श्रीमती राधिका शाक्यसहित गौतम निवास पुगेको बालुवाटार स्रोतले जनायो । वामदेव निवासमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमसहित महासचिव विष्णु पौडेलपनि सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयले यो भेटवार्तालाई पारिवारिक भेटवार्ता भनेपनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टीभित्र आन्तरिक विवाद चुलिएको अवस्था र आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले मोर्चाबन्दी गरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले वामदेवको साथ खोजेका छन् । आजमात्रै ओलीले एकलौटी रुपमा बैठक स्थगित् गरेको भन्दै दाहाल नेपाल समूहका बहुमत सदस्यहरुको उपस्थितिमा बालुवाटारमै बैठक सञ्चालन भएको थियो ।

उक्त बैठकमा ओलीलीले एकलौटी रुपमा बैठक स्थगित् गरेकोमा आलोचना भएको थियो । तर, आजको बैठक बस्नुअघि उपाध्यक्ष गौतमले दुवै अध्यक्षको नाममा भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । जसमा एकता महाधिवेशनसम्म ओलीलाई अध्यक्ष र प्रतिनिधिसभाको बाँकी कार्यकालभरि प्रधानमन्त्रीबाट हटाउन नहुनेलगायतका विषय समावेश छन् ।

गौतमले ओलीको समर्थनमा आफूलाई उभ्याएपछि ओलीलाई राहत भएको छ । सोहीअनुसार उनी नेता गौतमसँग विशेष सहमति गर्नेगरि आज उनको निवास पुगेको विश्वस्त्र सूत्रले दाबी गरेको छ । यसअघि पनि ओलीले गौतमलाई एकता महाधिवेशनपछि पार्टीको अध्यक्ष बन्न र चुनावी सरकारको प्रधानमन्त्री बन्न अफर गरिसकेका छन् । तस्विर : विश्वमणि सुवेदीको फेशबुक



प्रतिक्रिया दिनुहोस्