Logo

नेपाल–चीन मित्रताको ६५ वर्षः एक चीन नीतिप्रति निरन्तर प्रतिबद्धता



काठमाडौं, साउन १७ । नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार गरेसँगै नेपाल–चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ ।
दुई देश बीचको लामो सम्बन्ध पाँचौँ शताब्दीदेखि विकसित हुँदै अगाडि बढेको हो । दुई देश बीचको सम्बन्ध मित्रता, समझदारी, आपसी समर्थनसँगै शान्ति सह–अस्तित्वका सिद्धान्तको आदर्शमा अटल विश्वास राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जस अनुसार नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ ।

चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले नेपाल–चीन सम्बन्ध मात्र ६५ वर्षको होइन कूटनीतिक सम्बन्धको हिसाबले करिब १४ सय वर्षअघि देखिको हाम्रो सम्बन्ध रहेको बताएका छन्।

चिनियाँ भिक्षु फा सियानकोे यात्राले जनस्तरको सम्बन्ध त्यतिबेलै थियो भन्ने पुष्टि गर्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनी भ्रमण गरेको क्षण अझै अभूतपूर्व मानिन्छ । १३औँ शताब्दीमा नेपालका कलाकार अरनिको सहितको टोलीले चीनमा नेपालको कला संस्कृतिको प्रचार गरे ।

नेपाल तथा चीनबीच ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास रहेको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई बताउन्छन ।नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर सिमाना जोडिएको छ । व्यापारिक सम्बन्धतर्फ सन् १८५६ को थापाथली सन्धिअघि ल्हासामा नेपालका वकिल बस्थे ।

पछि तिब्बत चीनको स्वशासित क्षेत्र भएपछि सन् १९५६ मा तिब्बत सन्धि नेपालसँग भयो । त्यस पश्चात् तिब्बतमा नेपालको महावाणिज्य दूत रहन थालेको हो । आधुनिक सम्बन्ध भूराजनीतिले दर्शाएको सम्बन्ध रहेको पूर्वराजदूत कार्कीको धारणा छ ।

नेपाल र चीनको सम्बन्धलाई इतिहासको एउटा सुखद र असल पक्षका रूपमा लिइन्छ । चीनसँग रोटीबेटीको पुरानो सम्बन्ध छ । साताँै शताब्दीमा लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसँग हुनु एउटा उदाहरण मानिन्छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्