एजेन्सी, साउन १८ । दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।
स्वास्थ्यमन्त्री ज्वेली म्किजेले शनिवार १० हजार एक सय सात जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्ख्या पाँच लाख तीन हजार पुगेको घोषणा गरेका हुन्। तीमध्ये आठ हजार एक सय ५३ जनाको मृत्यु भएको छ। अफ्रिका महादेशमा कोरोनाभाइरस सङ्क्रमणबाट दक्षिण अफ्रिका अतिप्रभावित देश हो।
पूरै अफ्रिकामा पुष्टि भएका सङ्क्रमितमध्ये आधा त्यहाँ छन्।अमेरिका, ब्रजिल, रुस र भारतपछि विश्वभरि धेरै सङ्क्रमित हुने देशमा पाचौँ स्थानमा दक्षिण अफ्रिका पर्छ।दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमण फैलिने दर बढिरहेको र अहिले राजधानी प्रिटोरियावरपर सङ्क्रमितको सङ्ख्या धेरै रहेको बताएका छन्।
बीबीसीका अनुसार एकतिहाइ भन्दा बढी सङ्क्रमित दक्षिण अफ्रिकाको वित्तीय क्षेत्र रहेको खाउटेङमा छन्। उक्त प्रान्त एकदमै छिटो महामारीको केन्द्रबिन्दु बनेको थियो।
अझै एक महिना सङ्क्रमितको सङ्ख्या उच्चबिन्दुमा नपुग्ने ठानिएको छ।कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन दक्षिण अफ्रिकामा एप्रिल र मे महिनामा एकदमै कडा लकडाउन लगाइएको थियो।तर जुन महिनामा बिस्तारै बजारहरू खुल्न थाले।
गत महिना फेरि सङ्क्रमितको दर बढ्न थालेपछि लकडाउन पुनस् लगाइयो। त्यहाँ अगस्ट १५ तारिखसम्मका लागि सङ्कटकालीन अवस्था घोषणा गरिएको छ।बिरामीको चाप बढेपछि दक्षिण अफ्रिकाको अस्पतालहरूमा उल्लेख्य मात्रामा तनाव बढेको छ।