काठमाडौ, साउन २२ । बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागू गरेको हो ।
समितिले कोरोनाबाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजत पत्र प्राप्त नेपालका २० वटा बीमा कम्पनीमार्फत बिक्री भइरहेको जनाएको छ ।
कोरोना बीमा लेखअन्तर्गत एक लाख रुपियाँ र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क कायम गरिएको समितिले जनाएको छ । एक लाख रुपियाँ बीमाङ्क कायम भएको बीमा लेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ ।
सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यको सामूहिक बीमा गरिएको खण्डमा एक लाख रुपियाँको बीमाङ्कका लागि प्रतिव्यक्ति छ सय रुपियाँ र ५० हजार रुपियाँको बीमाङ्कका लागि प्रतिव्यक्ति तीन सय रुपियाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ ।
बीमा लेख खरिद गर्नका लागि बीमित नेपाली नागरिक हुनुपर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने न्यूनतम सर्त तोकिएको छ ।
सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।