Logo

विशेष अदालत प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य



काठमाडौं, साउन २५ । विशेष अदालतले कोरोना जोखिम बढेसँगै सेवाग्राहीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै अदालतमा प्रवेश गर्ने सबैलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।

‘संक्रमणको जोखिम बढेपछि बाध्य भएर कोरोना परीक्षणको रिपोर्टपछि मात्रै अदालतमा प्रवेश दिने निर्णय भएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘पहिला आरडिटी टेस्ट गरेर मात्रै अदालत प्रवेश गर्न दिइन्थ्यो अब पिसिआर रिपोर्ट अनिवार्य गरेका छौं ।’ अदालतले शुक्रबार मात्रै म्याद बुझ्न आएका दुई जना सेवाग्राहीलाई पिसिआर परीक्षण रिपोर्ट लिएर मात्रै उपस्थित हुन भन्दै फर्काइदिएको थियो ।

विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष सरकारी वकिलको कार्यालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई समेत पिसिआर परीक्षण रिपोर्टसहित अदालतमा उपस्थित हुन पत्र लेखेको छ । केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३५ जनामा कोरोना संक्रमण देखिएपछि अदालतले अनिवार्य पिसिआर रिपोर्ट पेस गर्न पत्र लेखेको हो ।

विशेष अदालतमा भ्रष्टाचार र अकुत सम्पत्तिसम्बन्धी मुद्दा दर्ता हुने भएकाले अख्तियार र सम्पत्ति शुद्धीकरणले मुद्दा दर्ता गर्ने गर्छन् । अदालतमा उपस्थित हुँदा अख्तियार र सम्पत्ति शुद्धीकरणका कर्मचारीले पनि अब अनिवार्य पिसिआर रिपोर्ट पेस गर्नुपर्नेछ ।

हाल अदालतले सेवा प्रवाहलाई व्यवस्थित बनाउन सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसलाअनुसार न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरेको छ । अदालतले कोरोना जोखिम न्यूनीकरणका लागि न्यायाधीश, कानुन व्यवसायी, कर्मचारी र सेवाग्राहीको ज्वरो मापन अनिवार्य गरेको छ ।

कार्ययोजनाअनुसार अदालत प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ । सो मापदण्डको पालना गर्ने जिम्मेवारी सुरक्षाकर्मीलाई रहनेछ । आगन्तुकको अभिलेख राख्ने र कोरोना परीक्षण भए नभएको जानकारी गेटमा लिइनेछ । पिसिआर परीक्षणविना आउनेलाई गेटबाटै फिर्ता पठाउने गरिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्