Logo

कांग्रेस महाधिवेशन सर्दै



काठमाडौं, साउन २५। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ ।

कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो ।

कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ । तर, महाधिवेशन सारेर जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन ।

शीर्ष तहमा भएको छलफलअनुसार पूर्वनिर्धारित मिति सारिए कांग्रेसको १४औं महाधिवेशन २०७८ सालको जेठ वा भदौमा हुनेछ । कांग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस पदाधिकारीसहित पूर्वपदाधिकारीको गत बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलअनुसार क्रियाशील सदस्यतालाई समेत दोब्बर बनाउने निर्णय भइसकेको छ ।
यस्तै, ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने भनिएको थियो ।

यसअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर र प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्