Logo

प्रहरीकै सेटिङमा भित्रिदैं भारतीय नागरिक



कैलाली, साउन २५ । विभिन्न नाकाबाट धमाधम भारतीयहरु नेपाल प्रवेश गर्न थालेपछि सुदूरुपश्चिममा कोरोना भाइरसको जोखिम बढेको छ। भारतमा कोरोना भाइरसको संक्रमण र यसको मृत्युदर पनि बढ्दो छ। तर भारतीयहरु भने सुदूरुपश्चिमका विभिन्न नाकाबाट खुलम खुला नेपाल प्रवेश गरिरहेको छन्।

कैलालीको त्रिनगर नाका र छेउछाउबाट तथा कंचनपुरको दोधाराचादनीबाट भारतीय नागरिक प्रवेश गरिरहेका हुन। सीमामा खटिएका प्रहरीकै सहयोगमा भारतीय नागरिक प्रवेश गरेका छन्। चैत ११ गतेदेखि सीमामा ओहोरदोहोर बन्द भएपछि रोकिएका भारतीयहरु समेत गत जेठमा भारत फर्केका थिए। लकडाउन खुलेर व्यापार व्यवसाय संचालन भएपछि भारतबाट भारतीय व्यवसायी, यहाँका उद्योग, कपाल काट्ने पसल, ग्रिल, वर्कसप, ग्यारेज लगायतामा काम गर्ने मजदुर नेपाल प्रवेश गरिरहेका हुन।

यहाँ कपाल काट्ने पसल, उद्योग, ग्रिल,ग्यारेज भारतीय मजदुरले भरिभराउ भैसकेका छन्। भने कतिपय भारतीय नागरिले संचालन गरिरहेका व्यवसाय पनि उनीहरुले संचालन थालेका छन्। भारतबाट आएकाहरुलाई समुदायमा घुलमिल हुन दिनाले धेरै ठूलो खतरा भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन।

सरकारले चैत १० गतेदेखि अन्तराष्ट्रिय नाका बन्द गरेको छ। सरकारको पछिल्लो मन्त्रिपरिषद बैठकले साउन ३२ गतेसम्म अन्तराष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेको छ। तर संक्रमण बढीरहेको भारतबाट भारतीय नागरिकलाई सीमामा खटिएका सुरक्षाकर्मीले नै प्रवेश गराइरहेको बताइएको छ।‘सीमामा प्रहरीलाई पैसा दिएमा प्रवेश गर्न पाइराखिएको छ, रु ५ हजार दिएर प्रवेश गरेको हुँ’ ग्रिल उद्योगमा काम गर्ने एक जनाले भने,‘सबैजना यसरी नै प्रहरीलाई मिलाएर आइरहेका छन्।’ रु ५ हजार दिएमा प्रहरी र शसस्त्र प्रहरीले आउन दिएको उनको भनाई छ। रु ५ हजार तिर्न नसक्ने नित्रगर नाका छेउ नजिकै पूर्वतिर मोहना नदी तरेर समेत आउने गरेको उनले बताए। मोहना नदी तरेर आउदाँ पनि प्रहरीलाई २ हजार दिनु परेको उनको भनाइ छ।

‘भारतमा भयाभह रुपमा संक्रमण फैलिरहेको छ, त्यहाँबाट नगारिक आउनै दिनु नपर्ने हो, यदी आउन दिनु नै पर्ने भएपनि क्वारेन्टिनमा राखी जाँच गरेर कोरोना नभएको पुष्टि भएपछि मात्र समुदायमा काम गर्न दिनु पर्ने हो’नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्,‘प्रहरीले घुस खाएर भारतीय नगारिक प्रवेश गराएको मैले पनि सुने, जताततै मौलाएको भ्रष्टाचारले जनतालाई निराश बनाइसक्यो।’

भ्रष्टाचारीको संरक्षण हुने भएकाले जताततै भ्रष्टाचार मौलाएर देश नै चुर्लुम्म डुबेकोले अवस्था भयाभह बन्दै गएको उनी बताउछन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले अन्तराष्ट्रिय सीमा नाका बन्द भएकाले अहिले भारतीय नगारिक नेपाल प्रवेश गर्न रोक लगाइएको दाबी गरे। सीमामा कडाइ गरेर भारतीय नागरिक आउन रोक लगाइएको उनको दाबी छ। सीमामा प्रहरीलाई पैसा दिएर भारतीय नागरिक प्रवेश गरेको सुन्नमा आएको उल्लेख गर्दै यसको बारेमा छानबिन गर्न प्रहरी प्रमुखहरुलाई निर्देशन दिइसकेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्