काठमाडौं, ७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले रिपोर्टर्स नेपाल डटकमसँग बताए । ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न आह्वान गरिएको छ ।
आज पञ्चमी टेकु (पुरानो भन्सार) मा रहेको ऋषेश्वर महादेव (सप्त ऋषि) मन्दिरमा दर्शनार्थी हिन्दू नारीहरुको हजारौंको भिड हुने दिन । तर सुनसाथ देखिएको छ । त्यहाँ पनि मुख्य प्रवेशद्वारमै ठूलो ताल्चा लगाईएको छ भने आधा दर्जन प्रहरीहरुबाट निगरानी गरिएको छ । दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मुल ढोकामै पूजा अर्चना गरी फर्काईने गरिएको छ ।
हेरौं हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले खिेचका तस्विरहरु: