Logo

मन्त्री नेम्वाङ्ग र रसियाका राजदूत एलेक्सी नोभिकोभबीच भेटवार्ता



काठमाडौं ९ भदौ । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गसँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालको विकास निर्माणका विषयमा विषेश छलफल भएको थियो ।
भेटका क्रममा मन्त्री नेम्वाङ्गले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री नेम्वाङ्गले पूर्वपश्चिम विद्युतीय रेलमार्गको कम्तिमा पनि इनरुवा–बर्दिवास खण्डको निर्माणमा लगानीसहितको सहकार्य गर्ने बारे जोड दिए । करिब ४.५ खर्ब लागत लाग्न सक्ने ७२ किलोमिटर लम्बाई रहेको संघीय राजधानी काडमाडौंको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको थियो ।
उक्त मेट्रो प्रोजेक्टको पाँच खण्डमध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानीसहित सहभागी हुन गरिएको प्रस्तावमा राजदुत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र रसियन सरकारसँंग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा दुई पक्षीय हित तथा पारिस्परिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति बाल अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्ट बारे समेत छलफल भयो ।
उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्रको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्