Logo

कुलमान घिसिङप्रति सरकारका प्रवक्ता डा. खतिवडाको व्यङ्ग्य- उहाँलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला



काठमाडौं, ११ भाद्र । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दिएको भन्दै व्यङ्ग्य गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्ननियुक्ति दिएको भन्ने कुनै जानकारी नभएको बताए ।

‘उहाँलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला,’ अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. खतिवडाले भने, ‘सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’ सरकारले घिसिङलाई पुर्ननियुक्ति दिएको भन्ने लेखाई र बोलाईमा कुनै सत्यता नभएको बताए ।

गत मङ्गलबार प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गरेको खबर भाइरल भएको थियो । घिसिङको नक्कली ट्वीटर एकाउन्टबाट समेत यसको प्रचार भएको थियो । तर, पछि सरकारले घिसिङलाई पुनः नियुक्ति नगर्ने सुचनाहरु बाहिर आएपछि सामाजिक सञ्जालमा उनको पक्षमा प्रतिक्रियाहरु आइरहेका छन् । सरकारका प्रवक्ता डा. खतिवडाले यसबारे आज प्रष्ट पार्दै पुनः नियुक्ति नदिएको प्रष्ट पार्ने क्रममा व्यङ्ग्य समेत गर्नुलाई अर्थपूर्ण मानिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली घिसिङको पुनः नियुक्तिको विपक्षमा उभिएको बुझिएको छ । घिसिङ पछिल्लो समय लोकप्रीय बन्ने दौडमा केन्द्रित रहेको भन्दै ओली असन्तुष्ट रहेको विश्वस्त स्रोतले बताएको छ ।

Photo By: Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्