जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद महेन्द्र राय यादवले नेपालमा संघीयता संसारको कुनैपनि तागतले हटाउन नसक्ने स्पष्ट पारेका छन् । नेपाली जनताको ठूलो त्याग र बलिदानीबाट नेपालमा संघीयता प्राप्त भएकोले कसैलेपनि हटाउन नसक्ने उनको भनाई थियो । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ यादवसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः
प्रदेश नम्बर २ को कुरा गर्दाखेरि मन्त्रीहरू परिवर्तनको कुरा छ । के तपाईहरु तयारीमा जुट्नुभएको हो ?
अहिले केही हाम्रो छलफल भएको छैन । मात्र त्यो प्रदेशका सासंदजीहरूले सबै नेताहरूलाई ध्यानाकर्षण गराउनुभएको छ । त्यतिसम्म मात्र हो । त्यसमा धेरै कुरा जनताबाट पनि उठेकै हो । यसमा हाम्रो कुनै गृहकार्य भएको छैन ।
गृहकार्य किन भएको छैन ? बाहिर कुरा आईसक्यो ? संसदीय दलको नेता परिवर्तन हुन्छ त अब ?
स्वभाविक रूपले पार्टी यहाँ पनि र त्यहाँ पनि दर्ता भयो । त्यो त कानूनी प्रक्रिया हो । अब हाम्रो पार्टीको जुन समायोजनको कुरा हो, समायोजनको काम तलदेखि माथिसम्म सम्पन्न गर्नुपर्दछ । यसको लागि हाम्रो आन्तरिक र औपचारिक छलफलहरू भईरहेको छ ।
जनताले परिणाम खोजिरहेका छन् । तपाईहरू सरकार विघटनको पक्षमा जानुभएको हो कि होइन ?
अहिले केही निर्णय भएको छैन । त्यसमा कुनै छलफल भएको छैन । अहिले समायोजनको छलफल भईरहेको छ । अहिले हाम्रो केन्द्रदेखि लिएर जिल्ला र प्रदेशमा सबै गठनको प्रक्रियाहरूमा हामी जुटेका छौँ । प्रक्रिया पूरा भईसकेपछि त्यो पनि एजेण्डा हो ।
मुख्यमन्त्री परिवर्तनको एजेण्डा कहाँ पुग्यो ?
त्यस्तो केही छँदै छैन । त्यहाँ माग भयो तर यसमा हाम्रो पार्टीको धारणा समायोजन भएको अस्तिको बैठकबाट निर्णय भएको छ, जुन कुराहरूमा हाम्रो एजेण्डाहरू छन्, त्यसमा हाम्रो छलफलहरू अगाडि बढिरहेको छ । त्यसैले समायोजनको काम सकिएपछि यथावत विषयमा पनि हाम्रो पार्टीको छलफल जारी हुन्छ ।
पार्टीभित्रको विवाद व्यवस्थापन गर्न सक्नुहुन्छ ?
व्यवस्थापनभन्दा पनि हामी मिलेका छौँ । बराबरीको अधिकारको लागि तलदेखि माथिसम्मको विधि र प्रक्रियाहरू हामीले बनाइसकेका छौँ । प्रदेशहरू कहाँसम्म मिल्न सक्नुहुन्छ, मिल्नुस् । मिल्न सक्नुभएन भने हामी समायोजनको कमिटि बनाएर अगाडि बढ्छौँ ।
परिणामहरू चाहियो नि जनतालाई ?
एकताको जुन वैकल्पिक शक्ति निर्माण गर्ने हाम्रो प्रयास छ, यसको लागि हामीले सांगठनिक हिसाबले अगाडि बढ्छौँ । अहिलेको यो कोभिडको कारणले हामीले रोकिरहेका छौँ । सकेसम्म हामीले हाम्रो आन्तरिक विधिबाट काम बढाउँदैछौँ ।
प्रदेशको अधिकारको बारेमा फेरि पनि बहस सुरु भएको छ । जहिले पनि तपाईहरू संघीय सरकारको आलोचना गर्नुहुन्छ, किन ?
तलदेखि तीन वटा सरकार छ, संविधानसँग जोडिएका विषयहरू हुन् । स्वभाविक रूपमा प्रदेशको अधिकारमा कटौती हुन्छ भने प्रदेश नम्बर २ कै सरकारले बोल्ने हो । अन्य प्रदेशहरूले के भन्नुहुन्छ भने प्रदेशको लागि प्रदेश नम्बर २ ले नै बोल्छ ।
प्रदेश नम्बर २ को सरकारले काम गरेन भन्ने गम्भीर आरोप छ नि ?
प्रदेश नम्बर २ सँग जुन स्रोत, साधन छ, सकेको काम प्रदेश नम्बर २ ले गरिरहेको छ । सबै प्रदेशको एउटै नेचर र कानूनी अधिकार छ । अहिले पनि यो प्रदेश भनेको केन्द्रको माथहत नै हो । प्रत्यक्ष रूपमा केन्द्रिय शासन नै हो यो ।
संघीयता विघटनको कुरा उठेको छ ?
यो सरकारको संघीयता असफल पार्ने रणनीति हो यो । यो देशमा प्रतिक्रान्ति, यथास्थितिवादीले संघीय लोकतन्त्र पचाएको छैन । संघीयता संसारको कुनै पनि तागतले हटाउन सक्दैन । नेपाली जनताको त्याग र बलिदानबाट आएको कुरा कुनै पनि हालतमा गुम्न सक्दैन ।
धेरैले भनेका छन् नि संघीयताले देशमा विकास होइन विनाश गर्छ भनेर ?
जसले संघीयतालाई पचाएको छैन, जसले देशमा एकात्मक शासन चाहेको छ, त्यस्ता प्रतिगामी र यथास्थितिवादी शक्तिहरूले चाहेको हो । प्रगतिको चाहना राख्ने प्रगतिशील जनताहरू संघीयता चाहन्छन् ।