काठमाडौं, १३ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा मिलिसकेको बताएका छन् । उनले सरकार र पार्टीको काममा केन्द्रित हुने गरी आफूहरुबीच सहमति बनेको समेत खुलासा गरेका छन् ।
‘म सरकार सञ्चालनमा केन्द्रित हुन्छु, प्रचण्डजी पार्टीको काममा केन्द्रित हुनुहुन्छ,’ ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा प्रधानमन्त्री ओलीले भने, ‘हामीबीच मनमनै हात मिलिसक्यो, अब कुनै असमझदारी छैन ।’ प्रचण्डले कार्यकारी अधिकारसहितको पार्टीको जिम्मेवारी लिने समेत बताए । आफू पनि अध्यक्षमा रहने र सरसल्लाह गरेर पार्टी सञ्चालनमा सरिक हुने बताए । तर, प्रधानमन्त्री एउटामात्र हुने भएको स्पष्ट पार्दै सरकार सञ्चालनमा सरसल्लाह गरेर बढ्ने बताए ।
उनले आफू सधैका लागि अध्यक्ष र प्रधानमन्त्रीका लागि आएको होइन भन्दै नेतृत्वका लागि तयार रहन समेत नेकपा नेताहरुलाई संकेत गरे ।
नेकपा सधै एकतावद्ध भई अगाडि बढ्ने बताए । उनले भने, ‘ननिस्कनुपर्ने समस्या निस्कियो जुन समाधान भइसकेको छ ।’
ओलीले मुख्यमन्त्रीहरु परिवर्तन नहुने प्रष्ट पारे । अबको डेढ वर्षपछि स्थानीय चुनाव आउन लागेको भन्दै चुनावपछि मात्र मुख्यमन्त्रीहरु को को हुने हो तय हुने बताए ।