काठमाडौं, १५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर गत महिना बनाइएको आपत्तीजनक भिडियो रिपोर्टबारे मुख फोरेका छन् । उनले त्यसतर्फ संकेत गर्दै महिलाहरुप्रतिको अभद्र व्यवहार भनेका छन् ।
‘महिलाहरुप्रतिको अभद्र व्यवहार भारतीय मिडियामा देखिन्छ,’ प्रधानमन्त्री ओलीले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा भने, ‘दक्षिण एशिया दुर्योधनले चीरहरण गरेकोमा निन्दा गर्ने ठाउँ हो । महिलाहरुलाई देवीको रुपमा सम्मान गर्ने ठाउँ हो ।’ उनले भारतीय मिडियाको स्तर, सम्भयता र सीमाको कुरा नगरौं सम्म भने ।
महिलाहरुको अपमान गर्ने गतिविधि भएकोमा आपत्ती जनाए । उनले भने, ‘अनावश्यक तानेर कुटनीतिक मर्यादा पालना नगरेर अपमान गर्ने व्यवस्था गरेको छ ।’
भारतको टेलिभिजन च्यानल जी न्युजले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदुत होउ यान्छीसँग जोडेर आपत्तीजनक भिडियो रिपोर्ट बनाएको थियो । त्यसको सर्वत्र निन्दा भएपछि जी न्युजले माफी मागेको थियो । त्यसपछि केही हप्ता भारतका कतिपय टेलिभिजन च्यानल नेपालमा प्रतिबन्ध लगाइएको थियो ।