काठमाडौं, १६ भाद्र । कुनैबेला राष्ट्रियसभामा जान्न बरु संसदीय चुनाव लड्छु भनेका बामदेव गौतमलाई कहिले पाल्पा त कहिले डोल्पा देखाइयो । काठमाडौंबाट बामदेवका लागि सिट छाड्छु भन्दै रामवीर मानन्धर अचानक हात उठाउन थाले । हेर्दाहेर्दै समय गुज्रियो । संसदीय चुनाव भएको अढाई वर्ष कट्यो । बामदेवका लागि उपचुनाव ‘जुनतारा खसाउने प्रेमीको गफ’ सावित भयो ।
नेकपाभित्र विवाद चल्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई सांसद बनाएर प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गरे । उनी दंग परे । बामदेवले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखी संविधानको धारा परिवर्तनको प्रस्ताव राखिरहे । तर, यो ओली र प्रचण्डबीचको टकरावलमा राजनीतिक अस्त्रमै सिमित भयो ।
बामदेवलाई राष्ट्रियसभामा लाने नेकपा सचिवालयले निर्णय गरेको थियो । उनलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यमा लाने गरी निर्णय भएको थियो । तर, ऋषि धमलासँगको शनिबारको अन्तवार्तामा ओलीले उक्त निर्णय पुरानो र समाप्त भइसकेको बताए । यतिसम्मकी उनले बामदेवले प्रस्तुत गरेको छ बुँदे नेकपाको एकताका लागि सञ्जीवनी बुटी सावित भएको हो ? भन्ने धमलाको प्रश्नमा त्यस्तो होइन केही सहयोगी बनेको हो मात्र भने ।
आफूले गरेको योगदानको कदर नभएको र पटक पटक धोका खाएको भन्दै बामदेव ओलीसँग चिढिने गरेका छन् । तर, उनले अन्तिम समयमा साथ दिएर ओलीले पटक पटक बाजी मारेका छन् । यसपटक सत्ता संकट पर्दा पनि गौतमकै सहयोगले जोगिए । तर, ओलीले फेरि धोका दिन लागेको भन्दै बामदेव चिढिएका छन् ।
गत शुक्रबार ओलीसँग दुई घन्टा लामो भेटमा गौतमले आफू राष्ट्रियसभामा जान चाहेको र सरकारमा महत्वपूर्ण मन्त्रालयसहित जिम्मेवारी लिन तयार रहेको बताएका थिए । तर, ओलीले सकारात्मक उत्तर नदिएको बुझिएको छ । गौतमले भने आफ्नो आर्थिक नीति लागु गर्नका लागि अर्थ मन्त्रालयको जिम्मेवारी लिने चाहना देखाएका थिए ।
अर्थमन्त्री युवराज खतिवडा सांसद मनोनित नभए स्वतः पदमुक्त हुनेछन् । तर, ओलीका लागि खतिवडा नै प्रीय छन् । यो बुझेर गौतम निकटले खतिवडाको आलोचना गर्दै आएका छन् । पार्टीमा कुनै योगदान नभएको व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै आलोचना गरिरहेका छन् ।
अहिलेको विकसित घटनाले अब बामदेवको विषयले नेकपाभित्र बबण्डर मच्चिने देखिएको छ । गौतमले राष्ट्रियसभा सदस्य र महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी नपाउने हो भने फेरि नयाँ विवाद बल्झने स्पष्ट छ । पछिल्लो समय भएका राजनीतिक नियुक्तिहरुप्रति प्रचण्ड र माधव नेपाल समेत असन्तुष्ट भइरहँदा गोतम फेरि जोडिएमा अवस्था जटिल बन्न सक्छ ।
गौतम फेरि नेकपा विवादमा सुरथको एक्का बनेर निस्किएका छन् । उनले चाल्ने कदमले नेकपाभित्र बन्दै गरेको सकारात्मक माहोललाई हल्लाएको छ । उनले यसपटक केही नपाउने हो भने कुनै न कुनै बबण्डर मच्चाउने चेतावनीसहितको सन्देश प्रवाह गरेका छन् । जुन नेकपालाई पुनः दुर्घटनातर्फ बढाउने परिस्थिति पनि हुनसक्छ ।