काठमाडौं, १६ भदौ । कारागारहरुमा कोरोना संक्रमण भयाभह हुँदै गएको छ । केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।
दुई जनाको सोमबार र एक जनाको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको कारागार कार्यालयले जनाएको छ । मृत्यु भएकामध्ये एक ४० वर्षिय कैदीमा कोरोना पुष्टि भएको छ । उनको मेगा अस्पतालमा मृत्यु भएको हो ।
अन्य दुई जनाको वीर अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । अर्का मृतकको रिपोर्ट नआएको जेलर लक्ष्मी प्रसाद बाँस्कोटाले बताए ।
केन्द्रीय कारागारका ५२ जना कैदी÷बन्दीमा संक्रमण पुष्टि भइसकेको छ । कारागारमाको सुरक्षामा कार्यरत ५६ प्रहरीमा पनि संक्रमण भएको छ । अन्य कैदी/बन्दीमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएको छ तर परीक्षण हुन सकेको छैन । केन्द्रीय कारागारमा तीन हजार एक सय कैदी/बन्दी छन् ।
धेरैमा संक्रमण देखिएपछि व्यवस्थापनबारे माथिल्लो निकायसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए ।संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुले जेलमा कोरोना समस्या बढेको भन्दै कैदीहरुलाई पछि फर्कने कागज गराएर छाड्न प्रस्ताव गरेका छन् । गृह मन्त्रालयले दुई तिहाई कैद भुक्तान गरिसकेकालाई समाजमै निगरानीमा रहने गरी छाड्ने प्रक्रियाबारे छलफल थालेको छ ।-दृष्टिबाट