काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिनेगरि गृहकार्य थालेका छन् । भोलि बस्ने पार्टीको सचिवालय बैठकबाट खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिनेबारे महत्वपूर्ण निर्णय लिने बालुवाटारको तयारी छ । राष्ट्रिय सभाको लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट खतिवडालाई मनोनित गर्ने प्रधानमन्त्रीको योजना छ ।
तर, सचिवालयका अधिकांश सदस्यहरुले गत फागुनमै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालबीच पनि हिजोमात्रै कुराकानी भएको छ । र, उनीहरु गौतमलाई नै राष्ट्रिय सभामा लैजान सहमत भएका छन् ।
प्रधानमन्त्री ओलीले यदि सचिवालयबाट गौतमलाई नै राष्ट्रिय सभामा मनोनति गर्नुपर्ने बाध्यात्मक अवस्था आए उनलाई अर्थमन्त्री चाहीँ नबनाउने पनि रणनीति बनाएका छन् । बालुवाटार स्रोतकाअनुसार ओलीले अर्थ मन्त्रालय आफ्नै मातहात राख्ने र खतिवडालाई आर्थिक सल्लाहकारमा (मन्त्रीस्तरीय) जिम्मेवारी दिएर राख्ने योजना बनाएका छन् ।
अहिलेको विषम परिस्थितिलाई राम्रोसँग ह्याण्डल गर्न खतिवडाजत्तिको काबिल मान्छे अर्को कोही नहुने भन्दै उनले अर्थमन्त्रालय सञ्चालनमा उनको आवश्यकत्ता महशुस गरेका छन् । र, यो कुरा अर्का अध्यक्ष दाहालसँगपनि सेयर गरेका छन् । दाहालले आफ्नो प्रस्ताव मान्ने ओलीको विश्वास छ । तर, नेता गौतमले यसअघि नै आफू राष्ट्रिय सभामा जान र सरकारमा सहभागी भएर प्रधानमन्त्री ओलीलाई सघाउने बताईएका सकेका छन् ।
ऋषि धमलासँग प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रधानमन्त्री ओलीले गौतमलाई राष्टियसभामा लैजाने च्याप्टर क्लोज भैसकेको बताएका थिए । लगत्तै, गौतमले अध्यक्षद्धय ओली र दाहाललाई भेटेरे फागुनमा गरिएको निर्णय कार्यान्वयन गर्न दबाब बढाएका छन् । file photo/Mukunda Kalikote-ReportersNepal