काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पौने दुई घण्टा भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओली उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान सकारात्मक देखिएका छन् ।
बालुवाटारमा भएको पौने दुई घण्टा लामो भेटवार्तामा अर्का अध्यक्ष दाहालले गौतमलाई राष्ट्रियसभामा लानुपर्ने प्रस्ताव गरेका थिए । र, दाहालको उक्त प्रस्तावमा ओली सकारात्मक देखिएका छन् । भोलि बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्न आज भएको अध्यक्षद्धयको भेटवार्तामा वामदेवबारे पनि कुराकानी भएको थियो ।
गत फागुनमा सचिवालय बैठकले नै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको थियो ।तर पछि गौतमले ईच्छा नदेखाएको भन्दै उक्त निर्णय कार्यान्वयन भएको थिएन । अहिले फेरी गौतमले नै ईच्छा देखाएपछि सोहीअनुसार दाहालले ओलीसमक्ष प्रस्ताव गरेका हुन् ।
गौतमले हालै अध्यक्षद्धय ओली र दाहाललाई छुट्छुट्टै भेट गरी आफूलाई राष्ट्रियसभामा लैजाने यसअघिको पार्टीको निर्णय यथाशक्य कार्यान्वयन गर्न दबाब दिएका थिए । प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलासँग प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा वामदेव राष्ट्रियसभामा जानेबारे च्याप्टर क्लोज भएको बताएपछि विवाद सतहमा आएको हो ।
यही भदौ २० गतेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीपदबाट मुक्त हुन्छन् । तर ओलीले पुनः खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर मन्त्री यथावत राख्न चाहेका बेला अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यहरुले गौतमलाई मनोनित गर्ने यसअघिको निर्णय कार्यान्वयनमा ओलीलाई दबाब दिएका छन् ।
गौतमलाई मनोनित गर्ने विषयमा ओली सकारात्मक देखिएको बताईएको छ । आजको झलफलमा अध्यक्षद्धयबीच मन्त्रीमण्डल हेरफेर बारे पनि छलफल भएको थियो । त्यसैगरी अध्यक्ष दाहालले आफूलाई दिइएको कार्यकारी अधिकारमा हस्तक्षेप नगर्न पनि माग गरेका थिए । File Photo