Logo

अर्थतन्त्र डामाडोल स्थितिमा पुगेको छ, मन्दीबाट महामन्दीतर्फ जाँदैछौँ : डा. अधिकारी



डा. चन्द्रमणि अधिकारीले अहिले कोभिडको कारणले गर्दा नेपालको अर्थतन्त्र डामाडोल स्थितिमा पुगेको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले एक ढंगले मन्दीमा त छँदैछौं । मन्दीबाट महामन्दीतर्फ जाँदैछौं ।’ प्रस्तुत छ डा. अधिकारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अर्थमन्त्री को भन्नेबारे बहस सुरु भयो । युवराज खतिवडाको साँढे दुई वर्षको कार्यकाल कति सफल ? कति असफल ?

अहिलेको अर्थतन्त्र सरसर्ती हेर्ने हो भने नेपाल राष्ट्र बैंकको पछिल्ला प्रतिवेदनहरू हेरियो भने त्यसलाई निरपेक्ष ढंगले हेर्दा केही सकारात्मक पक्षपनि देखिएका छन् । यद्यपि हामीले जुन लक्ष्य राखेका छौँ, पूर्वाधार निर्माणका लक्ष्य, जनताको आयस्तर बढाउने लक्ष्यहरू हुन्छन्, ती आर्थिक लक्ष्य हुन्, अथवा भौतिक पूर्वाधार निर्माण गरेर पूर्वाधार विकासलाई तीव्र बनाउने लक्ष्यहरू हुन्, अथवा लगानीका लक्ष्य हुन्, सामाजिक विकासका सूचकका लक्ष्यहरू र गरिबी न्युनीकरण गर्ने लक्षणहरू त्यसै पनि हाम्रो लक्ष्य अनुसार अघि बढेका थिएनन्, यो कोभिड आउनुभन्दा अगाडि पनि । यो पन्ध्र्रौँ पञ्च वर्षीय योजनामा ९३ खर्ब लगानी गर्नुपर्छ । लगभग ९.६ प्रतिशतको ग्रोथ हासिल गर्नुपर्छ भन्ने कुराहरू हासिल हुन सकेनन् । अहिले कोभिडले अर्थतन्त्र जरजर बनाइदिएको छ । श्रम र उत्पादनको सम्बन्धलाई टुटाईदिएको छ । यो पछिल्ला जुन निषेधाज्ञाहरू आइसकेपछि त बाँकी रहेका बजारको सम्बन्ध पनि टुट्न पुगेको छ । धेरै क्षेत्रमा टुटिसकेको र केही क्षेत्रमा त्यान्द्रो मात्र बाँकी रहेको अवस्था छ ।

अहिलेको अवस्थामा वामदेव गौतमलाई राष्ट्रियसभामा लिएर जानुपर्छ भनेर प्रचण्डले भन्नुभएको छ । उहाँलाई अर्थमन्त्री बनाउन पनि पार्टी तयार हुनुपर्छ भनेका छन् । प्रधानमन्त्रीको भनाई छ, अर्थमन्त्री दिन सकिँदैन वामदेव गौतमलाई ?

लोकतन्त्रको आधार भनेको योग्यतातन्त्र हो । लोकतन्त्र योग्यतामा आधारित हुनुपर्छ । सुशासनमा आधारित हुनुपर्छ । यी कुराहरू गौण भएर क, ख र ग व्यक्तिको अमुक सम्बन्धमा पार्टीभित्र त्यस्ता खालका जुन बहसहरू चल्छन्, बहसले कुनै पनि अर्थ राख्दैन । अहिले अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ । चिन्ताजनक मोडमा पुगेको छ । विश्वका ठुला अर्थतन्त्रहरू नेदरल्याण्ड र इटालीहरू अप्ठ्यारो स्थितिमा आयौँ भनेर हामी त्यसअनुसारको कामहरू गर्न थालिसकेको अवस्था छ, छिमेकी देश भारतले अप्रत्याशित खालको ठीक ढंगले उनीहरूले अपेक्षा नै नगरेको त्यो संकुचन आएको छ, अर्थतन्त्रमा । उनीहरूको बजेट सुरु भएको पहिलो त्रैमासिकमा २४ प्रतिशत गत सालको भन्दा अष्ट्रेलियाको अर्थतन्त्र मण्डीमा गईसक्यो । अमेरिकामा बेरोजगारी दर उच्च ढंगले बढेको छ । यो बेलामा भोली हामी कसरी अगाडि बढ्ने ? यसको लागि रणनीतिहरू के हुन सक्छ ? यसको लागि हामीेले साधन र स्रोतको उच्चतम प्रयोग कसरी गर्ने ? जनशक्तिको उच्चतम प्रयोग कसरी गर्ने ? अहिले मान्छेहरू सडकमा आइसकेका छन् ।

मान्छे सडकमा छन् । खान पाएका छैनन् । मजदुरहरूको पीडा छ । देशमा फर्किए, भारतबाट आए र फेरि भारत जाँदैछन् । यो अवस्थाको अन्त्य कसरी गर्ने ?

विदेशमा साना/साना काम गरेर बसेका थिए, कतिले रोजगारी गुमाइसकेका छन् । उनीहरूले सापटी लिएर त्यो पनि सकिसकेको अवस्था छ । अहिले त्यो घाउ उचुक भएर निस्कँदैछ । अहिले हामीले त्यसलाई गम्भीरतापूर्वक लिईरहेका छैनौँ ।

पार्लियामेन्ट सिस्टमको कुरा गर्दाखेरि मन्त्री कसलाई बनाउने भन्ने त प्रधानमन्त्रीको व्यक्तिगत अधिकार हो नि ?

एउटा व्यक्तिको लागि भनेर पार्टीको शक्ति, विचार केन्द्रिकृत हुन जान्छन् । त्यसले के गर्छ भने सम्पूर्ण पार्टी संरचनालाई कमजोर बनाएर लैजान्छ । आम कार्यकर्ताको पार्टीप्रतिको विश्वास घटेर जान्छ । त्यसको प्रभाव भोली पार्टीको नीतिमा पर्दछ । त्यसको ठुलो असर पार्टीको क्रियाकलापमा पर्छन् । पार्टीहरू कमजोर हुँदै जान्छन् । पार्टीहरू कमजोर हुँदै गएपछि मैले एउटा अमुक पार्टीको कुरा गरेको छैन, लोकतन्त्रलाई बलियो बनाउने हो भने पार्टीलाई बलियो बनाउनुपर्छ । पार्टीहरू बलिया हुन के हुनुपर्छ, पार्टीहरू पद्धतिमा चल्नुपर्छ । पार्टीहरू पद्धतिमा कति बेला चल्छ, जब उनीहरूले विधान अनुसार चल्छन्, संविधान अनुसार चल्छन् । तर त्यो कुरा नै भएको छैन । अहिले कोभिडको कारणले गर्दा अर्थतन्त्र डामाडोल स्थितिमा पुगेको छ । हामी एक ढंगले मन्दीमा त छँदैछौँ । मन्दीबाट महामन्दीतर्फ जाँदैछौँ । त्यसलाई कसरी रोक्ने, त्यसको प्रभावलाई कसरी न्युनीकरण गर्ने ? आम जनतालाई निम्न र मध्यम वर्ग भनेको लोकतन्त्रको मेरुदण्ड हो । अर्थतन्त्रबाट परेको विचलनको प्रभाव मध्यमवर्गमा उकालो लागिसकेको छ । जब मध्यम वर्गमा त्यसको प्रभाव बढि हुन्छ, जनता सडकमा उत्रिन थाल्छन् ।



प्रतिक्रिया दिनुहोस्