भदौ १८, काठमाण्डौ । पछिल्लो ५ महिनादेखि थन्क्याइएका सार्वजनिक सवारी सधान खिया लाग्न थालेका छन् । पार्किङ गरिएकै स्थानमा गाडीका पाटपुर्जा बिग्रिइसकेका छन् । कोरानाको जोखिमका कारण सार्वजनिक यातायात संचालनमा प्रतिबन्ध गरिएपछि यो व्यवसाय संकटमा परेको छ । कतिपय व्यवसायीले त अव आत्महत्या गर्नुपर्ने अवस्था आइसकेको बताउन थालेका छन् ।
सरकारले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक बस सञ्चालन असोज १ गतेबाट सडकमा बस गुडाउने भनिए पनि सम्भव नभएको व्यासायीहरु बताउँछन । राजधानी काठमाडौंमा र अन्य जिल्लामा चल्ने अधिकांश बस ग्यारेजमा र पार्किङ स्थलमा थन्क्याएर राखिएको छ । सरकारले सार्वजनिक बस चलाउने निर्णय लिएपछि बस मर्मतका लागि आउने उनीहरूको अपेक्षा थियो ।
तर मर्मतका लागि भनेर अहिलेसम्म केहीपनि निर्णय नभएको कारण अहिले बस संचालन गर्न नसक्ने व्यसायीहरुको दावी छ । सवारी साधनहरु लामो समयदेखि नचल्दा विभिन्न पाटपुर्जा बिग्रिएको र मर्मतका लागि लाखौँ खर्च हुने भएकाले यही अवस्थामा संचालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय कुमार स्वाँरले बताए ।
कतिपय यातायात व्यवसायीले त संकटपूर्ण अवस्था सृजना भएको भन्दै पुनः व्यवसाय सुरु गर्ने आँटसमेत गरेका छैनन् । सरकारले सहयोग नगरे आफूहरु आत्महत्या गनुपर्ने अवस्था पुगेको एक व्यवसायीले बताए ।
सरकारले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा बन्द छन । ६ महिना देखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाए सगैँ अहिले सवारी साधानहरुमा झार उम्रिएर बसपार्क, ग्यारेज तथा अन्य स्थानमा अलपत्र अवस्थामा रहेका छन ।