काठमाडौँ, १८ भदौ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले आज ट्वीटमार्फत सो घटनामा परी निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनसमेत प्रकट गरेका छन् । बुधबार राति परेको अविरल वर्षाका कारण उक्त खोलामा आएको बाढीले बगाउँदा १२ जनाको ज्यान गएको छ भने ४१ जना बेपत्ता भएका छन् ।
अध्यक्ष दाहालले बाढीमा बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रनिधि, सुरक्षा निकाय, समाजसेवीलगायत सबैमा आह्वान गरेका छन् । उनले बाढीमा परी निधन, बेपत्ता तथा विस्थापित परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।-रासस