काठमाडौं, १९ भाद्र । यतिबेला समाजसेवी विनयजङ्ग बस्नेत कोरोना कहरमा बिचल्लीमा परेकालाई दैनिक खाना खुवाउँदै आएका छन् । हरेक दिन विहान र बेलुकी काठमाडौं उपत्यकामा कोही पनि भोको नहुन् भनेर विनय आफ्नो टिमसहित सडक र गल्लीमा मानिसहरुलाई खाना खुवाउँदै हिंडेका छन् ।
विनयले हरेक दिन पाँच सय मानिसलाई खाना खुवाउँदै हिडेपछि उनीको काममा सहयोगी हातहरु बढेका छन् । आज विनयलाई महालक्ष्मी नगरपालिकाको हाम्रो युवा समुहले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । उनलाई दुई दिन खाना खुवाउन पुग्ने गरी समाजले सहयोग प्रदान गरेको हो ।
सहयोग हस्तान्तरणमा हाम्रो युवा समाजका संयोजक विवेककुमार कार्की, कुबेर केसी, बिनोद केसी, रबिन केसीलगायत सहभागी थिए । विनयले खाना तयार गर्ने गरेको महालक्ष्मी नगरपालिकाको चाङ्गथलीमै पुगेर सहयोग हस्तान्तरण भएको हो । विनयले सहयोग प्रदान गरेकोमा हाम्रो युवा समुहको योगदानको प्रशंशा गरे । समुहले महालक्ष्मी नगरपालिका र अन्य क्षेत्रमा पनि कोरोना कहरमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे ।
हाम्रो युवा समुहका संयोजक विवेककुमार कार्कीले विनयले देखाएको समाजसेवा र त्यागको भावनाको उच्च कदर गरिनुपर्ने बताए । उनले निस्वार्थ रुपमा भोकाहरुको सेवामा समर्पित विनयलाई सक्दो सहयोग गर्न आग्रह पनि गरे । उनले भने, ‘राज्यले गर्न नसकेको कतिपय कामहरु विनयबाट निरन्तर भइरहेको छ ।’
विनय बेवारिशी शवहरुको व्यवस्थापनमा पनि सक्रिय छन् । उनको परिचय बेवारिशी शवको दहनका क्षेत्रमा वर्षौं देखि रहँदै आएको छ ।