भदौ १९, काठमाण्डौ । कोभिड १९ नियन्त्रणका लागि सरकारले मास्कको प्रयोगलाई अनिवार्य गराएको छ । संक्रमण रोकथामका लागि एसएमएस (सोसल डिस्टेन्सिङ, मास्क र स्यानिटाइज) लाई अगाडि बढाएको छ । तर डब्लुएचओ र युनिसेफले बालबालिकामा मास्कको प्रयोगको विषयमा विज्ञहरुको सुझाबलाई लिएर ५ वर्ष मुनिका बालबालिकामा मास्कको प्रयोग गर्न नहुने निष्कर्ष निकालेको छ ।
कोरोना भाईरस रोकथामको लागी मेडिकल मास्क लगाउनु बयस्कहरुको लागि उत्तम उपाय मानिन्छ । तर पाँच वर्ष मुनिका बालबालिकाले मास्क लगाउन आवश्यक नभएको विश्व स्वास्थ्य संगठनलगायत सरोकारवाला संघ संस्थाहरुले बताएका छन् । बालबालिका र बृद्धबिृद्धामा संक्रमणको जोखिम उच्च भएकाले भिडभाडमा जानै नहुने विज्ञहरुको तर्क छ । भिडभाडबाट टाडै रहन सक्यो भने मास्कको प्रयोग गर्नै पर्दैन । पाँच वर्ष मुनिका बालबालिकाले मास्कको सही र सुरक्षित प्रयोगको बारेमा जानकारी हुदैन । जस्को कारण स्वासप्रस्वासमा समस्या हुन सक्ने जनस्वास्थ्यविद् डा. रबिन्द्रनाथ पाण्डे बताउँछन् ।
१२ वर्ष भन्दा माथिका बालबालिकाहरुले र वयस्क मानिसले भिडभाडमा जादा, कार्यालयमा रहदा अनिवार्य र नियमित मास्कको प्रयोग गर्न डब्लुएचओले सुझाब दिएको छ । कम उमेरका बालबालिका भन्दा किशोरावस्थाका बालबालिका वा वयस्क मानिसल बिभिन्न स्थानमा पुग्नेभएकोले संक्रमण फैलाउन बढी भूमिका हुने प्रमाणहरुले देखाएको छ । जस्को कारण उनिहरुमा मास्क अनिवार्य छ । तर एक्लै भएको बेला र उकालो बाटो हिड्नु पर्ने अपस्थामा मास्कको प्रयोग गर्नु हानिकारक छ । वयस्कमा पनि स्वासप्रस्वासको समस्या हुने पाण्डेको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । पछिल्लो समय अनावश्यक भ्रम फैल्याइएको भन्दै मन्त्रालयले गलत हल्लाको पछि नलाग्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका हुन् ।
उच्च जोखिम भएको क्षेत्र वा गम्भिर स्वास्थ्य समस्या भएका व्यक्तिसँगको संवादका क्रमा भने मास्क लगाउनै पर्छ । मेडिकल मास्क लगाउनु भनेको रोकथाम उपायहरू मध्ये एक हो । यद्यपि मास्कको प्रयोगमात्र पर्याप्त हुँदैन । अन्य सुरक्षाका उपायहरु पनि अपनाउन आवश्यक छ ।