Logo

आफ्नो जन्मदिनको अवसरमा मन्त्री भट्टराईद्धारा मुस्कानलाई आर्थिक सहयोग



भदौ २१, काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गरेका हुन्  ।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ ।

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । मन्त्री भट्टराईले भने–‘मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ, मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोली डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’

मन्त्री भट्टराईले एसिड पीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जिन्दगीभर सहयोग रहिरहने बताए । पीडित बालिकालार्ई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केहि दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए ।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले ०७२ सालदेखि नियमितरुपमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् । ०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको शुरुवात गरेका मन्त्री भट्टराइले ०७३ सालको जन्मदिनमा  बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बसेका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढन–पाठनको व्यवस्था मलिाएका थिए ।

मन्त्री भट्टराईले ०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए भने ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गरेका थिए । गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले  पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहीन आमा–बुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्