Logo

कोरोना भाइरसविरुद्धको पाँच प्रकारका भ्याक्सिन २०२० मै प्रयोगमा आउने



प्रभात सिंहः कोरोना भाइरसविरुद्धको पाँचवटा भ्याक्सिन सन् २०२० भित्र नै प्रयोगमा आउने भएको छ । ती पाँच वटा भ्याक्सिन अन्तिम चरणको मानव परीक्षणको क्रममा छन् । जसमध्ये रुसको गेमिलियाद्वारा विकास गरिएको भ्याक्सिन उक्त देशमा अनुमोदन भई सेम्टेम्बर महिनामै प्रयोगमा ल्याइने टुंगो लागिसकेको छ ।

गेमिलिया निर्मित स्पुतनिक भी भ्याक्सिन यसै हप्ता सर्वसाधारणका लागि प्रयोगमा ल्याइने भएको छ । यसको अन्तिम तयारी भइसकेको छ । भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणको अध्ययन ल्यान्सेट जर्नलमा प्रकाशित भइसकेको छ । तथ्यांकले उक्त भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको छ ।

स्पुतनिक भी नामको भ्याक्सिन साउदी अरेबिया, युएई, ब्राजिल, फिलिपिन्सलगायतका देशहरुमा ४० हजार स्वयंसेवीमाथि परीक्षण भइरहेको छ ।

अन्तिम अर्थात् तेस्रो चरणको मानव परीक्षणको क्रममा रहेका भ्याक्सिनहरुमा चिनियाँ कम्पनि सिनोभाक बायोटेकको कोरोनाभ्याक, ब्रिटेन र स्वीडेनको कम्पनि एस्ट्राजेनेकाको अक्सफोर्ड भ्याक्सिन, अमेरिकाको मोर्डना र फाइजर बायोनटेक यसै वर्ष अनुमोदन गरी प्रयोगमा ल्याउने क्रममा छन् । ती भ्याक्सिनको प्रयोग २०२० को अन्तसम्ममा गर्ने योजनाका लागि तयारी भइसकेको छ ।

अक्सफोर्ड र मोर्डना भ्याक्सिन उत्पादन नहुँदै कतिपय देशले चासो बढाइसकेका छन् । भ्याक्सिनको पहुँचका लागि लबिङ शुरु भइसकेको छ । चीनको भ्याक्सिन जोखिममा काम गर्ने स्वास्थ्यकर्मीका लागि प्रयोगको अनुमती दिइसकिएको छ ।

अहिले विश्वभर एक सय ७५ वटा भ्याक्सिन विकासको चरणमा छन् । जसमध्ये ३३ वटा मानव परीक्षणको क्रममा छ ।

अक्सफोर्ड भ्याक्सिन प्रभावकारी भ्याक्सिनको अग्रपंक्तिको दौडमा छ । यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतमा भइरहेको छ ।

भारतमा कोभिशिल्ड दोस्रो र तेस्रो चरणको मानव परीक्षणको क्रममा छ । भारतको १७ स्थानमा १६ सय स्वयंसेवीमाथि यसको परीक्षण भइरहेको छ । यो पुणास्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले विकास गरिरहेको छ ।

फाइजर कम्पनिको भ्याक्सिनको तेस्रो चरणको परीक्षणको नतिजा डाटा अक्टोबर महिनाभित्र आइसक्नेछ । त्यसपछि २०२० भित्र नै यसलाई प्रयोगमा ल्याउने गरी तयारी भइरहेको छ ।

अमेरिकाको मोर्डना कम्पनिको भ्याक्सिन तेस्रो चरणको परीक्षण १३ हजार स्वयंसेवीमाथि गरिरहेको छ । उसले प्रत्येक भ्याक्सिनको मूल्य समेत ६० डलर हरेक कोर्सका लागि पर्ने गरी योजना बनाइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोर्डना भ्याक्सिन १० करोड डोज भ्याक्सिन खरिद गर्ने घोषणा गरिसकेका छन् ।

यसैगरी, वुआन इन्स्टिच्युट अफ बायोलोजिकर प्रडक्ट्सको भ्याक्सिन, बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रटक्स्टको भ्याक्सिन र क्यानसिनो बायोलोजिक्सको भ्याक्नि, अष्ट्रेलियाको मुरडक्ट्सको चिल्ड्रेन रिसर्च इन्स्टिच्युटका भ्याक्सिन पनि परीक्षणको क्रममा छन् । –एजेन्सीको सहयोगमा, Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्