काठमाडौं, भदौ २५। भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ ।
लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो ।
सीमाको विषयलाई लिएर झन्डै ८ महिना दुई देशबीच संवाद नै नभएको अवस्था थियो । गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै विवाद बढेको थियो ।
त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि सम्बन्ध तनावपूर्ण बन्न पुगेको थियो ।
दशैंअघि नै भारतले नेपालमा मन्त्रिस्तरीय भ्रमण गर्ने तयारी गरिरहेको बुझिएको छनेपालको विरोध जारी नै रहेको बेलामा फेरि गत वैशाखमा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो ।
सोही सिलसिलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले आफ्नो निसान छाप परिवर्तन गर्न संविधान नै संशोधन गरिसकेको छ । नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबीच संवादहीनताको अवस्था थियो ।
दुई देशबीच सीमा विवादको कुरा उठेपछि परराष्ट्र मन्त्रालयले भारतलाई चार पटकसम्म पत्र लेखेर वार्ता र संवादका लागि आग्रह गरेको थियो । तर, भारतले संवादका लागि नेपालले पठाएको पत्रको प्रतिउत्तर दिएको थिएन । नेपालको पत्रको जवाफ भारतले दुई महिनापछि मात्रै दिए पनि असन्तुष्टि जनाएको थियो ।राजधानी दैनिकबाट