Logo

अख्तियार आयुक्त बन्न यीनको दौडधुप



काठमाडौं, २५ भाद्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे २८ भाद्रबाट बिदा हुने भएका छन् । आइतबार उनको बिदाईको सम्पूर्ण तयारी भइसकेको छ । घिमिरेको बिदाई लगत्तै आगामी हप्ता अख्तियारमा रिक्त तीन पदको चयन प्रक्रियाले गति लिनेछ ।

अख्तियारको प्रमुख आयुक्तमा गणेशराज जोशीको बढुवा हुने सम्भावना छ । उनले कार्यवाहकका रुपमा पनि चलाउन सक्छन् । छ महिनाका लागि उनलाई प्रमुख आयुक्त दिने गरी सहमति बनाइदैछ ।

आयुक्तमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले दुई र बाँकी एकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा या नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको नाममा अनुमोदन गर्ने प्रयास भइरहेको छ । देउवाको अख्तियारमा दाबीका कारण कुरा मिल्न सकेको छैन । ओलीलाई प्रचण्डलाई एकजना कोटा दिनुपर्ने वाध्यता पनि छ । प्रचण्डले रुचाएका जोशीलाई प्रमुख आयुक्त दिएर ओलीले दुईजना सदस्य आफ्नो कोटाबाट बनाउने प्रयास पनि भएको छ ।

ओलीले पूर्व गृहसचिव प्रेमकुमार राईलाई अख्तियारको आयुक्त बनाउने निश्चितप्रायः छ । उनलाई भविष्मया प्रमुख आयुक्तका लागि बढाइँदैछ । आयुक्तहरुमा भने धेरैको दौडधुप छ । पूर्व प्रहरी अधिकृतहरु देखि राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुखहरु पनि रहेका छन् ।

अख्तियारमा प्रचण्डको कोटाबाट आयुक्त बन्न पूर्व डिआइजी केशरी घिमिरे प्रयासरत छन् । देउवाको कोटाबाट आयुक्त बन्न जयबहादुर चन्द प्रयासरत छन् । तर, ओली चन्दलाई बनाउने पक्षमा छैनन् । त्यसैले दिलिप रेग्मीको नाम आउन सक्छ । देउवालाई अन्य संवैधानिक आयोगमा मनाएर ओलीले कम्तिमा दुई सदस्य आफ्नो तर्फबाट राख्न खोजेका छन् । त्यसो हुँदा अख्तियारमा प्रेम राईसहित अर्का व्यक्ति ओलीको कोटाबाट आउन सक्छन् ।

पूर्व आइजीपी सर्वेन्द्र खनाल पनि अख्तियार आयुक्त बन्नसक्ने सम्भावित मध्ये छन्। ओली उनको पक्षमा रहेको बुझिएको छ । बालुवाटारले पर्दा साथ दिएको र अख्तियारमा रहन उपयुक्त भएकाले पनि खनाललाई तान्न खोजिरहेको छ । विगतमा प्रेम राई र सर्वेन्द्र खनालको ट्युनिङ मिलेको विषयबारे पनि ओली पक्षमा छलफल चलेको बुझिएको छ ।

संवैधानिक आयोगको नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्नुपर्ने हुन्छ । जसमा प्रधानमन्त्री अध्यक्ष रहने गरी प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख समेत हुन्छन् । तर, उपसभामुख नभएकाले पाँचैजनाको सहमति जुट्नुपर्ने हुन्छ । त्यसैले अख्तियारमा ओली, प्रचण्ड र देउवाबाट एक एकजनाले कोटा पाउने सम्भावना बलियो छ । ओली भने दुईजना आफ्नोबाट र बाँकी एकजना देउवा या प्रचण्डलाई दिने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्