एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षण अन्तिम चरणमा गएर रोकिएसँगै विशेषज्ञले यसको सुरक्षा विश्लेषण शुरु गरेका छन्। परीक्षण रोक्नुलाई वैज्ञानिकले स्वागत गरेका छन्। यसैगरी, केही विशेषज्ञहरुले यसबाट भ्याक्सिनको परीक्षण विश्वसनीय ढंगबाट भइरहेको हाे वा हाेइन थाहा हुने बताएका छन्।
परीक्षण रोकिएसँगै भ्याक्सिमाथि विशेषज्ञहरुले अनुसन्धान शुरु गरेका छन्। वैज्ञानिकहरुले परीक्षणमा सहभागी बिरामीको जीउ सुन्निएको भनिएकोमा त्यसलाई ट्रान्सभर्स माइलाइटिस भएको हुनसक्ने डर रहेको बताइएको छ।
यसैगरी, कोरोना भाइरसका विरुद्ध बनिरहेको उक्त भ्याक्सिनको परीक्षणको काम रोकिनुमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का मुख्य वैज्ञानिकहरुले यसलाई चिन्ताको कुरा नभएको भन्दै अनुसन्धानकर्ताहरुलाई हतोत्साहित नहुन आग्रह गरेका छन्।
डब्ल्यूएचओले पहिले नै अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाइरहेको भ्याक्सिन आशाजनक रहेको बताइसकेको छ।
उता विशेषज्ञको बोर्डले उक्त बिरामीको रिपोर्ट जाँच गर्नेछ। यसैगरी, भ्याक्सिन दिनुभन्दा पहिले र भ्याक्सिन दिइसकेपछि लक्षणमा देखिएको भिन्नताको तुलना गरेपछि उक्त बिरामी सुन्निएको संयोगवश हो वा भ्याक्सिनको प्रतिक्रियाबाट भन्ने निर्णय दिने बताइएको छ। त्यसपछि मात्र भ्याक्सिनको परीक्षण जारी राख्ने वा फेरि शुरु गर्ने भन्ने निर्णय हुनेछ।
एस्ट्राजेनेकाका प्रवक्ता मिशेल मिक्सलका अनुसार, बिरामीमा ट्रान्सभर्स माइलाइटिसको पुष्टि भने भइसकेको छैन। विशेषज्ञद्वारा जाँचको रिपोर्ट हेरेपछि मात्र यसबारे केही भन्न सकिने उनले बताए।
ट्रान्सभर्स माइलाइटिसमा दुख्ने, मांशपेशीमा कमजोरी, पक्षघात तथा मुत्रथैलीसँग सम्बन्धित समस्याहरु हुन्छ।
क्यालिफोर्निया यूनिभर्सिटीका न्यूरोलोजिस्ट डाक्टर फेलिसिया चाओका अनुसार, यसलाई शरिरमा रोग प्रतिरोधात्मक क्षमताको प्रतिक्रियासँग जोडिन्छ। कोभिड–१९ लाई पनि केही मामलामा यसको कारण मानियो।-मेरोलागानी/Photo: Agency