काठमाडौं, २६ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । अध्यक्षद्धयले पेश गरेको प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । अध्यक्षद्धयको प्रतिवेदनलाई वरिष्ठ नेता माधव कुमार नेपाल असन्तुष्ट रहेको बुझिएको छ । तर, उनले अध्यक्षद्धयको प्रतिवेदनमा विरोध पनि नगर्ने र समर्थपनि नगर्ने भएका छन् ।
नेकपा स्थायी कमिटी बैठकमा केही बेर बोलेर अध्यक्ष ओली निस्किए
नेता नेपालले आजको बैठकमा प्रतिवेदनलाई लिएर आफ्नो ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका थिए । तर, हिजो नै नेता नेपाल समूहका नेताहरु डा. भीम बहादुर रावल र सुरेन्द्र पाण्डे (कार्यदलका सदस्यहरु) ले नेपाललाई भेटेर नोट अफ डिसेन्ट नलेख्न आग्रह गरेका थिए ।
नेता नेपाललाई आफ्नो समूहका नेताहरुले अहिले ‘पर्ख र हेर’ को नीतिका साथ अघि बढ्न सुझाएका छन् । अध्यक्षद्धय आगामी दिनमा कसरी अघि बढ्छन् ? त्यो हेर्न नेता नेपाललाई सुझाईएको छ । र, विगतझैं दुई अध्यक्षमात्रै मिलेर अघि बढे र आफूहरुलाई कर्नरमा पारियो भने मात्रै कडा कदम चाल्न नेपाललाई सुझाईएको छ । तस्विर : सूर्य थापा/प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार