काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकाका सांसदहरुले आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । उनीहरुले सभामुख सापकोटालाई भेटेर कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका र भैरहेका कामको अनुगमन गर्न छुट्टै संसदीय समिति गठन गर्न माग गरेका छन् । शुक्रबार सभामुखको कार्यालयमै भेटेर सांसदहरुले यस्तो माग गरेका हुन् ।
अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा-छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि सांसदहरुले माग गरेका हुन् । सभामुख सापकोटालाई भेट्न सांसदहरु गगन थापा, भीमसेनदास प्रधान, राकुमारी झाँक्री, शशि श्रेष्ठ, राजेन्द्र केसी, राजेन्द्र श्रेष्ठ, दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ सिंहदरबार पुगेका थिए ।
सभामुखसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यकता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको स्पष्ट पारे ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम