वीरगंज, ७ असोज । बारा प्रहरीले बम विस्फोट गरी फिरौती रकम माग गर्ने गिरोहका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । बारा, परवानीपुर गाउँपालिका–१ निवासी ३६ वर्षीय कपिलदेव महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीले उनलाई मङ्गलवार राति १० बजे परवानीपुरस्थित घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महतोलाई आवश्यक कारबाईको लागि बारा जिल्ला अदालत पठाइने जिप्रका, बाराले जनाएको छ ।
परवानीपुर गापा–४ मा रहेको एमएस इँटा उद्योगका सञ्चालकलाई २०७६/७/४ गते १५ लाख फिरौती माग गर्दै इँटा उद्योगमा प्रमोद गोठको समूहले बम विस्फोट गराएको थियो । २०७६/८/२५ गते प्रमोद साह गोढ समूहले ३ लाख फिरौती लिएर चैनपुरमा आउन इँटा उद्योगका सञ्चालकलाई फोन गरेका थिए । तर इँटा उद्योगका सञ्चालकले प्रहरीलाई खबर गरेपछि सोही दिन प्रहरीले परवानीपुर गापा–४ बस्ने प्रमोद साह गोढ, देवशंकर राम, जीतपुर उपमनपा–२० बस्ने अच्छेलाल गोसाइ र फेटा गापा–३ बस्ने दिपेन्द्र धानुकलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई आपराधिक लाभ, बम विस्फोट तथा संगठित अपराध मुद्दामा बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले २०७६/१०/२७ गते पक्राउ गरी पूर्पक्षको लागि वीरगंज कारागार चलान गरेको थियो । सोही घटनामा संलग्न कपिलदेव महतो भारत फरार भएका थिए । तर केही दिनअघि महतो नेपाल प्रवेश गरी आपराधिक क्रियाकलापमा सक्रिय भएको भन्दै बारा प्रहरीले उनलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।