काठमाडौं, ९ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले आफूलाई मन्त्री बनाउनुपर्छ भनेर अहिलेसम्म पार्टीका कुनै नेताहरूको घरमा नधाएको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको लागि कुरा गर्दै विडारीले यस्तो बताएका हुन् । तपाईँले कानुन मन्त्रालय दिनुपर्छ भनेर माग गर्नुभएको छ, के त्यो सही हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा
उनले भने,‘मैले केही भनेको छैन । हाम्रो पार्टी र प्रधानमन्त्रीज्युले निर्णय र इच्छा गर्नुभयो भने म जुनसुकै मन्त्रालय चलाउन सक्षम नागरिक हुँ ।’
उनले अघि भनेका छन्,‘नेताहरूकोमा त म जाने नै भएँ तर मन्त्रीकै लागि होइन, म विभिन्न सरसल्लाहको लागि जान्छु । प्रचण्डकहाँ म गईरहन्छु । अध्यक्षलाई भेट्न जाने कुरा स्वभाविक नै हो । मन्त्री बनाउनुभयो भने म चलाउन सक्छु । उहाँहरूले पत्याउने÷नपत्याउने उहाँहरूको कुरा हो । अरू कुरा नेता र प्रधानमन्त्रीज्युलाई थाहा होला ।’
उनले आफूलाई मन्त्री बनाईए राम्रोसँग चलाएर देखाउने स्पष्ट पारेका छन् । उनले थपे,‘किन नसक्नु ? मैले कानुन मन्त्रालयमा भएको विकृति, कानुनी क्षेत्रमा भईरहेको अस्तव्यस्तता र जुन कानुन बनाउन नसकेर रुमल्लिएको नेपालमा १०९ ओटा कानुन बनाउनुपर्नेमा नबनिसकेको अवस्थामा बनाउनुपर्ने बेला छ, किन नसक्नु ? जिम्मा दिए सकिन्छ । यसमा मेरो कुनै चित्त दुःखाई छैन ।’ file photo