Logo

गण्डकीमा २७ वर्षपछि बढी क्षति



पोखरा, असोज १० । नेपालमा हरेक वर्ष प्रायः जुन १० तिर मनसुन सुरु हुन्छ र सेप्टेम्बर २३ सम्म रहन्छ । त्यसैलाई आधार बनाएर जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर २३ मा मनसुन सकिने बताए पनि यसपटक त्यो समय पछाडि धकेलिँदै गएको छ । त्यसकारण यतिबेला नियमित र भीषण वर्षा भइरहेको छ । त्यसले गर्दा निम्तिएको बाढीपहिरोले विध्वंस मच्चाउँदा मानवीय क्षति पनि बढाउँदै लगेको छ ।

मनसुनको यो अवधिमा गण्डकी प्रदेशमा भएको मानवीय क्षतिको आकार पनि बढ्दो छ । सकिने बेलाको मनसुनले मच्चाएको वितण्डाको मार निकै डरलाग्दो हुँदै गएको मौसमविद्ले बताएका छन् । बिहीबार मात्र स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा सिंगै परिवार परिवारमा पर्दा नौजनाको मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ । पहिरोले स्थानीय माया नेपालीको घर बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

मनसुनको यस अवधिमा मात्र गण्डकी प्रदेशमा १ सय २६ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । प्रदेशका ११ मध्ये हिमाली जिल्ला मनाङबाहेक अन्यत्र सबैतिर बाढीपहिरोले क्षति पु¥याएको छ । प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार बाढीपहिरोको सबैभन्दा बढी क्षति बागलुङमा भएको छ । त्यहाँ ३६ जनाले ज्यान गुमाएका छन् । बागलुङमा १६ जना अझै बेपत्ता छन् । त्यसपछि म्याग्दीमा ३१ जनाको ज्यान गएको छ भने पाँचजना बेपत्ता छन् । स्याङ्जामा भएको मानवीय क्षतिको संख्या अहिलेसम्म १५ पुगेको छ भने एकजना हराइरेका छन् ।

अहिलेसम्म कास्कीमा ११ र लम्जुङमा चारजनाको ज्यान गएको छ । त्यस्तै तनहुँमा १३ र पर्वतमा १० जनाको मृत्यु भएको छ । गोरखामा तीनजनाले ज्यान गुमाउँदा एकजना बेपत्ता छन् । हिमालपारिको जिल्ला मुस्ताङमा एक र नवलपुरमा दुईजनाको बाढीपहिरोका कारण ज्यान गएको छ । ‘बाढीपहिरोमा परेर ज्यान गुमाउनेसँगै बेपत्ता हुने पनि छन्,’ रेग्मीले भने, ‘बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ । तर हराएको लामो समय भएकाले भेट्न कठिन छ ।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्