दार्चुला, असोज १२। नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ ।
गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो ।
कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो ।
चट्टानी भीर फुटाएर खुलाइएको ट्र्याकमा सफाइको कामसमेत सकिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले जानकारी दिए ।
यो बाटो खुलेसँगै व्यासवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ । व्यासको छाङ्रु र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ ।
व्यासी हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलङ्गा बस्ने गर्छन् । खलङ्गाको गर्मी छल्न गाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः मङ्सिर पहिलो साता खलङ्गा झर्ने गर्छन् ।
विगतमा नेपालतर्फ बाटो नहँुदा व्यासी भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गरेका थिए । यो वर्ष सीमा विवाद, लकडाउन र सीमा नाका बन्द भएकाले व्यासीलाई गाउँ फर्किन समस्या थियो । घोरेटो बाटो निर्माण भएसँगै व्यास पुग्न नेपाल र भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता अन्त्य हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।