काठमाडौं, असोज १२ । हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी गत साता भएको निर्णय तत्काल कार्यान्वयनमा नजाने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको हो ।
प्राधिकरणले अघिल्लो साता मात्र हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । ग्राउन्ड ह्यान्डलिङ सेवाको अनुमति दिइँदा सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको व्यापार खोसिएको भन्दै आलोचना भएपछि मन्त्रीले यसबारे चासो राखेका थिए ।
पर्यटनमन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग यस विषयमा छलफल गरी हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएकोबारे जानकारी लिँदै अहिलेलाई यथास्थितिमा राख्न निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो ।
यद्यपि यसबारे मन्त्रालय र प्राधिकरणको आधिकारिक धारणा भने बाहिर आएको छैन । मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र प्राधिकरणका महानिर्देशकबीचको छलफलमा मन्त्री भट्टराईले मापदण्डलगायतका विषयमा चासो राखेका थिए । अहिले नेपाल वायुसेवा निगमबाहेक एयर इन्डिया र थाई एयरवेजले आवश्यक मापदण्ड पूरा नगरी ग्राउन्ड ह्यान्डलिङ सेवा उपयोग गर्दै आएका छन् ।
यीमध्ये निगमले व्यावसायिक सेवा प्रदान गरेको छ भने अरु दुईले ‘सेल्फ सर्भिस’ उपयोग गरेका छन् । प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री यस विषयमा आफूलाई आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिन्छन् ।आर्थिक अभियान दैनिकबाट