काठमाडौं, असोज १५ । कोरोना भाइरसको महामारीका कारण चालू आर्थिक वर्षमा पनि जीवन बीमा व्यवसाय प्रभावित भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण गत आवमा पनि जीवन बीमा व्यवसाय प्रभावित भएको थियो ।
अहिले बन्दाबन्दी खुकुलो बनाइए पनि व्यवसाय चलायमान भएको छैन । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) मा कोरोनाको महामारीले असर पारेको छ ।
हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले औसतमा मासिक दुई अर्ब ८७ करोड रुपैयाँ भन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्ने गरेका छन् । तर, चालू आवको साउन र भदौमा औसतभन्दा पनि कम प्रथम बीमाशुल्क संकलन भएको छ ।
बीमा समितिबाट प्राप्त चालू आवको भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो । समितिका अनुसार साउनमा दुई अर्ब २२ करोड र भदौमा दुई अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको छ । जुन औसतभन्दा कम हो ।
कोरोनाको त्रासका कारण बीमा अभिकर्ताहरू खुलेर फिल्डमा हिँड्न पाएका छैनन् । त्यसैको असरले प्रथम बीमाशुल्क संकलनमा असर पुगेको कम्पनीहरूको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।