Logo

नेपालबाट बाहिरिने विप्रेषणमा कमी



काठमाडौं, असोज १६ । कोरोना भाइरसको महामारीका कारण गत आवमा नेपालमा भित्रिने मात्र होइन, बाहिरिने विप्रेषणमा पनि कमी आएको छ । नेपालबाट बाहिरिने विप्रेषण २१ दशमलव ६१ प्रतिशतले घटेको छ ।

नेपालबाट औपचारिक माध्यमबाट बाहिरिने विप्रेषणमा सो बराबरको कमी आएको हो । गत आर्थिक वर्ष (आव)मा औपचारिक माध्यमबाट पाँच अर्ब ४४ करोड रुपैयाँ विप्रेषण बाहिरिएको थियो, जुन अघिल्लो आवको भन्दा एक अर्ब ५० करोड रुपैयाँले कम हो । आव २०७५र७६ मा ६ अर्ब ९४ करोड रुपैयाँ विप्रेषण बाहिरिएको थियो । आव २०७४र७५ मा भने पाँच अर्ब ७८ करोड रुपैयाँ विप्रेषण बाहिरिएको थियो ।

भारत, चीनलगायत मुलुकबाट रोजगारीका लागि नेपाल आएका कामदारले औपचारिक माध्यमबाट सो बराबरको विप्रेषण बाहिर पठाएका हुन् । एयरलाइन्स, होटेल र विदेशी स्वामित्वको बैंक तथा बीमा कम्पनीहरूमा विदेशी कामदार तथा कर्मचारी कार्यरत छन् । उनीहरूले आफ्नो पारिश्रमिक औपचारिक माध्यमबाट आफ्नो मुलुक पठाउने गर्छन् ।

चीन र भारतलगायत मुलुकबाट यहाँ विभिन्न प्रकारका रोजगारीका लागि आउने गर्छन् । त्यसमा कतिपयले औपचारिक र कतिपयले अनौपचारिक माध्यमबाट पारिश्रमिक लैजाने गरेका छन् ।

पछिल्ला वर्षहरूमा नेपालबाट बाहिरिने विप्रेषण बढ्दै गएको थियो । तर, गत आवमा विप्रेषण उत्प्रवाह बढ्ने क्रम रोकिएर घट्न गएको छ । कोरोना भाइरसको महामारीका कारण गत आवमा नेपालबाट बाहिरिने विप्रेषण घटेको हो ।

नेपालका विद्युत् आयोजनाहरूको निर्माणमा चिनियाँ कामदार तथा प्राविधिकहरू कार्यरत छन् । तर, चीनमा कोरोना संक्रमण हुन शुरू भएसँगै बिदामा त्यहाँ गएका चिनियाँ कामदार गत मङ्सिररपुसदेखि नै नेपाल आएका छैनन् । यही कारण चीनतर्फ जाने विप्रेषणमा कमी आएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्