काठमाडौं, असोज १८ । कोरोना भाइरसले मिर्गौला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गौला रोग लागेका बिरामी र उनीहरूका परिवार प्रभावित बन्न पुगेका छन् । बन्दाबन्दी तथा निषेधाज्ञा खुुले पनि मिर्गौला रोगीलाई अस्पतालसम्म पुुग्न अहिले निकै कठिन भएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा प्रेमराज ज्ञवालीले मिर्गौला ‘फेल’ भई डाइलासिस गराइरहेका व्यक्ति आर्थिक लगायत अन्य समस्यामा त थिए नै कोरानाका कारण झन् समस्या रहेको जानकारी दिए। उनले धर्मभक्त प्रत्यारोपण केन्द्र देशकै एक मात्र प्रत्यारोपण केन्द्र भएकाले चार सिफ्टमा डाइलासिस गरिरहेको जानकारी दिए ।
उनले बन्दाबन्दीको बीचमा ९० देखि सय जनाको मिर्गौला डाइलासिस भइरहेको बताए ।
श्रीमान् मिर्गौला रोगी भए श्रीमती र श्रीमती रोगी भए श्रीमानले कमाएर उसको उपचार र अन्य खर्च जोहो गर्न नसक्दा धेरै बिरामीलाई समस्या भएको छ ।
बन्दाबन्दीले धेरैको रोजगार गुम्दा मिर्गौला डाइलासिस गराइरहने बिरामी र प्रत्यारोपणको पर्खाइमा रहेका बिरामी तथा प्रत्यारोपण गराइसकेका व्यक्ति त्यसको शिकार बन्न पुगेको आजको गोरखापत्र दैनिकमा खवर छ ।