Logo

चलायमान हुन थाल्यो अटोमोबाइल व्यवसाय



काठमाडौं, असोज २० । दशैंतिहार नजिकिएसँगै अटोमोबाइल व्यवसाय चलायमान बन्न थालेको छ । बन्दाबन्दी र निषेधाज्ञाले थलिएको अटोमोबाइलको व्यवसाय दशैंतिहारलाई लक्षित गरी ल्याइएका स्किम र अफरहरूका कारण पनि बजार जुर्मुराउन मद्दत पुगेको हो ।

टाटा, ह्युन्दे, फोर्ड, रेनोँ, स्याङ्योङलगायत सवारी विक्री गर्दै आएका कम्पनीहरूले दशैंतिहारका लागि छूट तथा स्किम अफर ल्याएका छन् ।

दुईपांग्रेतर्फ टीभीएस, सुजुकी, यमाहाले पनि दशैंतिहार स्किम सार्वजनिक गरेका छन् । निषेधाज्ञा हटेसँगै शोरूममा सवारीसाधन बुझ्न आउनेको संख्या बाक्लिएको व्यवसायीहरूको भनाइ छ ।

चैतको दोस्रो सातादेखि सरकारले लगाएको बन्दाबन्दी साउनमा अन्त्य गरेपछि दुईपांग्रे सवारीको बजार चम्किए पनि चारपांग्रे सवारीको बजार मन्द थियो । साउन अन्तिम सातापछि चारपांग्रे सवारीका लागि पनि शोरूममा ग्राहक देखिन थालेकोमा सरकारले भदौ ३ गतेदेखि निषेधाज्ञा लगाएको थियो ।

भदौ २४ गतेदेखि सरकारले निषेधाज्ञा अन्त्य गरेपछि बजार विस्तारै चलायमान बन्न थालेको नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

‘पोहोरको जस्तो बजार छैन, ६ महीनादेखि बन्द व्यवसायमा ग्राहक अलिअलि देखिन थालेका छन्, दशैं नजिकिँदै गएपछि बजार बढ्छ भन्ने अनुमान छ,’ उनले भने ।

अघिल्ला वर्षहरूमा दशैंअगाडि नाडाले अटो शो गर्ने र त्यसपछि दशैंसम्म अटोमोबाइलको विक्री निकै हुन्थ्यो । तर, यस वर्ष नाडा अटो शो नभएपछि व्यवसाय पहिलेको भन्दा धेरै कम हुने व्यवसायीको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्