काठमाडौं, असोज २० । प्रदेश पाँचको सरकार र प्रदेश सभामा नेकपाको दुई तिहाइ सजिलै पुग्छ । तर दुई तिहाइको सरकारलाई प्रदेशको स्थायी राजधानी तोक्न हम्मेहम्मे भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेको थियो । अस्थायी राजधानी रहेको बुटवलका दर्जनौं संघसंस्थाले आफ्ना व्यावसायिक भवनसमेत प्रदेश सरकारलाई बुटवल राजधानी राख्नका लागि दिएको बताउँदै आएका छन् ।
उनीहरूले राजधानी बुटवलबाट सार्न पाइँदैन भनी सडकमा आन्दोलनसमेत गरिरहेका छन् । आन्दोलन गर्ने संघसंस्थामा ७५ प्रतिशत नेकपा वा सत्ता पक्षका नेताहरूले नेतृत्व गरेका छन् । तिनीहरू नै बुटवलमा राजधानी राख्नुपर्ने भनी लडिरहेका छन् ।
नेपाली कांग्रेसले भने आफ्नो पालामा घोषणा गरिएको बुटवलको राजधानी यथावत् नै राख्नुपर्ने भन्दै आन्दोलित भएको छ । कांग्रेसले सडकदेखि सदनसम्म तताएको छ । प्रदेश ५ मा कुल ८७ जना सभासद् रहेकोमा नेकपाको सभामुख उपसभामुखसहित ६१, नेपाली कांग्रेसका १९, मधेस केन्द्रित दलका ६ र राष्ट्रिय जनमोर्चाको १ जना सभासद् रहेका छन् ।
सोमबारको ३०औं बैठक प्रदेश राजधानीको प्रस्तावमाथिको छलफलको विषयमा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले गैरसंवैधानिक तरिकाले ल्याइएको राजधानीको प्रस्तावको औचित्य प्रमाणित गर्न माग गर्नुभयो । उहाँले बुटवल किन नहुने र दाङ के कारणले राजधानी हुने भन्ने कुराकोे औचित्य प्रमाणित गर्न माग गर्नुभयो ।
नेता कनौडियाले दलीय सहमतिविना ल्याइएको राजधानी र प्रदेशको प्रस्ताव फिर्ता गर्न माग गर्दै राजनीतिक संवाद र सहमतिबाट मात्र प्रस्ताव ल्याउन माग गर्नुभयो । राजधानी र नामसम्बन्धी अध्ययन गर्न बनेको विशेष समितिको प्रतिवेदन सार्वजनिकलगायतका मागहरू पूरा नभएसम्म संसद् चल्न नदिने कांग्रेसले बताएको छ ।
त्यसलगत्तै सभामुखले बैठक अगाडि बढाउन खोजे पनि कांग्रेसका सभासद्हरूले रोस्टम घेरेर नाराबाजी गरिरहेका थिए । उनीहरूले संसदीय मर्यादा कार्यम गर, आन्दोलनका क्रममा पक्राउ गरी हिरासतमा राखिएका साथीलाई विनासर्त रिहा गर, राजधानीको प्रस्ताव फिर्ता गरलगायतका नारा लगाउँदै रोस्टम घेराउ गरेका थिए ।
प्रतिपक्षी दलका नेताले राखेका चारवटा माग पूरा गर्न माग गर्दै कांग्रेस सभासद्हरूले केही बेर नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले रोक्ने प्रयास गर्नुभएको थियो । ‘माननीयज्यूहरू नारा लगाएर भ्याइयोरु’ भन्ने सभामुखले सोधेको प्रश्नको बेवास्ता गर्दै नाराबाजी झन् चर्काएका थिए ।
पहिलो बैठकमा कांग्रेसले रोस्टम घेरेपछि २ बजेसम्मलाई स्थगित गरिएको थियो ।
सहमतिका लागि केही समय प्रयास भए पनि कांग्रेसको अडान कायमै रहेपछि सभामुखले सभाको दोस्रो बैठक अघि बढाउनुभएको थियो । तर, दोस्रो बैठक पनि कांग्रेसले रोस्टम घेराउ गर्ने प्रयत्न गरेपछि सभामुखले मर्यादापालकको बलमा बैठक अगाडि बढाउनुभयो । त्यसपछि आक्रोशित कांग्रेसका सभासदहरूले संसद बैठकका कुर्ची भाँच्दै नाराबाजी गरेका थिए । नेपाल समाचापत्र दैनिकबाट