Logo

वामदेव पत्नी तुलसा मन्त्री नबन्ने



काठमाडौं, २६ असोज । दशैं अगाडि मन्त्रिमण्डल पुर्नगठन हुने छाँटकाँट देखिदैन । तैपनि, यसै भन्न नसकिने अवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला जुनसुकै निर्णय लिन सक्छन् । उनले महत्वपूर्ण निर्णयहरु गर्दा अकस्मात् गर्दै आएका छन् । कतिपय निर्णयहरु मन्त्रीहरुले समेत थाहा पाउँदैनन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेमा वामदेव गौतमलाई मन्त्री नबनाउने रणनीति बनाएको बुझिएको छ । यसै पनि सर्वोच्च अदालतको अन्तरिम आदेशले वामदेवलाई तत्काल मन्त्री बन्न रोकेको छ । यो अवस्थामा गौतम मन्त्री बन्न पाउँदैनन् । सर्वोच्चले वामदेवविरुद्धको मुद्दाको संवैधानिक इजलाशले अन्तिम किनारा लगाउँदा के गर्छ भन्ने संकेत पनि दिइसकेको छ । यसकारण पनि वामदेव रोकिन सक्छन् । उनको साटो पत्नी तुलसा थापालाई मन्त्री बनाउनेतर्फ बालुवाटारको ध्यान नगएको होइन ।

तर, वामदेव पत्नी तुलसा थापा मन्त्री नबन्ने निश्चितप्रायः छ । विश्वस्त स्रोतका अनुसार तुलसा थापाले मन्त्री बन्ने चाहना राखेकी छैनन् । समानुपातिकतर्फकी सांसद तुलसा मन्त्री बन्न पाउँछिन् । तर, उनले नै यस्तो इच्छा देखाएकी छैनन् । गौतमले पनि उनलाई सार्नेमा सहमति जनाएका छैनन् । भए आफै उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिने उनको चाहना छ । तर, गौतम रोकिने सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्