Logo

६३ हजार नयाँ लघु उद्यमी बनाउन साढे १ अर्ब रुपैयाँ लगानी गरिँदै



काठमाडौं, कार्तिक ७ । सरकारले मुलुकभरका ६३ हजार ३९० जना नयाँ लघु उद्यमी बनाउने महत्त्वाकांक्षी लक्ष्यका लागि रू १ अर्ब ५४ करोड ४७ लाख लगानी गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमबाट एउटा लघु उद्यमी तयार गर्न रू। २५ हजार खर्च गर्दा उक्त लगानी गर्नुपर्ने देखिएको हो ।

मन्त्रालयबाट सञ्चालित कार्यक्रम ‘गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)’ मार्फत चालू आर्थिक वर्ष २०७७/७८ मा उक्त संख्यामा नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य लिइएको हो । सो कार्यक्रममार्पmत नयाँ लघु उद्यमीका साथै सक्रिय नभएका पुराना लघु उद्यमीलाई स्तरोन्नति गर्न सघाउने, १५० ओटा साझा सुविधा केन्द्र बनाउने र १ हजार ५०६ ओटा प्रविधि÷मेशिन उपकरण हस्तान्तरण गर्न सरकारले रू २ अर्ब २४ करोड ६० लाख बजेट विनियोजन गरिसकेको छ । त्यसमध्ये उक्त रकम नयाँ उद्यमी सृजनाका लागि मात्रै खर्चिनुपर्नेछ ।

यो लगानी मन्त्रालयले सशर्त अनुदान शीर्षकमा ७५३ ओटै नगरपालिका तथा गाउँपालिकामा पठाइसकिएको छ । यो रकम उद्यमीले सीधै पाउने छैनन् । मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका उपसचिव दिनेशसागर भुसालले हाल लघु उद्यमीका रूपमा रहेका तर उद्यमलाई विस्तार तथा स्तरोन्नति गर्न नसकेकालाई पनि सोही बजेटमार्फत सहयोग गरिने बताए ।

उद्यम शुरू गरे पनि गुणस्तरीय उत्पादन, प्याकेजिङका साथै शीप पनि प्रभावकारी रूपमा नसिकेकालाई पुनः शीप तथा प्याकेजिङमा सघाएर वा सहुलियत कर्जा दिएर सहयोग गर्ने उनको भनाइ छ । मुलुकभर यस्ता लघु उद्यमीको संख्या ३३ हजार ४६० रहेको छ ।

सो कार्यक्रममार्फत लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सृजना गर्ने, उद्यमीको स्तरोन्नति (आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एड्भान्स शीप विकास तालीम कार्यक्रम), अति गरीब परिवारका लागि कम्तीमा १० जनाको समूहलाई हुने गरी साझा सुविधा केन्द्रको स्थापना र सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्न कम्तीमा ५ जनाको समूहमा प्रविधि हन्तान्तरण गरिने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्