Logo

बिनास्वीकृति साइकल लेन



ललितपुर, कात्तिक ७ । ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन ।

महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण सुरु गरेको हो । सो सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब दस किलोमिटर छ ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गरे ।

सडक विभागले भने महानगरपालिकाले आफूूखुसी साइकल लेन निर्माण गरेको भनाइ छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमतिविना नै आफूखुसी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताए ।

उनले सो सडकखण्डमा विभागको अनुमतिविना साइकल चलाउन नमिल्ने स्पष्ट पारे । साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ ।‘‘काठमाडौँ र ललितपुर जोड्ने थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार क्षेत्रको सडक फराकिलो बनाउने सम्भावना छैन’’, उपमहानिर्देशक सापकोटाले थपे, ‘‘साँघुरो र व्यस्त सडकमा दायाँबायाँ साइकल लेन बनाएर सडकलाई थप साँघुरो बनाउने गरी अनुमति दिन सकिँदैन ।’’
अहिलेकै सवारीसाधनको चापलाई थेग्न नसकेको सो सडकखण्डमा झन् साइकल लेन बनाउँदा बढ्न सक्ने जोखिम र दुर्घटनाको दायित्व समेत सडक विभागलाई नै हुने भएकाले यस सम्बन्धमा विभागले थप अध्ययन र छलफल गरेर मात्र अगाडि बढ्न सक्ने उनले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्