Logo

इश्वर पोखरेल र भीम रावलबीच आरोप प्रत्यारोप



काठमाडौं, १४ कात्तिक। भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको राजनीतिमा कम्पन आइरहेको छ । यसको प्रधानमन्त्री केपी शर्मा ओलीइतरका केही नेताहरुले चर्को आलोचना गर्दै आएका छन् । यसमध्ये एक हुन् स्थायी कमिटी सदस्य भीम रावल ।

रावलको टिप्प्णीप्रति संकेत गर्दै उपप्रधानमन्त्री इश्वर पोखरेलले गोयलसँग प्रधानमन्त्री ओलीको भेटलाई आलोचना गर्नेहरुलाई मानसिक सन्तुलन बिग्रिएको भने । यसलाई लिएर रावलले कडा टिप्पणी गरेका छन् । उनले रेडियो एनआरएनमा ऋषि धमलासँग मन्त्रीहरुको यस्तै बोलीले सरकारको स्तर गिरिरहेको टिप्प्णी गरे ।

तस्बिर : प्रदीपराज वन्त,रासस

रावलले कतिपय मन्त्रीहरुको व्यवहार र अभिव्यक्ति अस्वभाविक, गैरजिम्मेबार र अपाच्य भएको भन्दै धेरै आलोचना पनि गर्ने गरेका छन् ।

मन्त्रीपरिषदमा भएकाहरुकै सोचाइको स्तरकै कारण सरकार गिरिरहेको रावलको टिप्पणी रहेको छ । उनले भने, ‘मन्त्रीहरु नै तुच्छ गाली गलौज र कुतर्कमा उत्रिनु दुखदायी हो ।’

त्यसैगरी नेपाली बहसमै सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले भारत जोगी पठाएको भएपनि प्रधानमन्त्रीले भेट्नु पर्ने भनेर दिएको अभिव्यक्तिप्रति पनि नेता रावलले आपत्ति जनाए ।

जस्लाई पठाएपनि भेट्नु पर्ने भन्ने अभिव्यक्ति लम्पसारवादको पराकाष्टा भएको टिप्पणी गर्दै यस्तै मानसिकताका मन्त्रीहरुका कारण सरकारको स्तर र प्रस्तुती खस्कीदै गइरहेको बताए ।

उनले सरकारमा भएका र पार्टी नेतृत्वमा भएकाहरुले पेल्ने र गुठबन्दीका आधारमा पक्षपातपूर्ण व्यवहार गर्ने कार्य भइरहेको भन्दै असन्तुष्टि पनि व्यक्ति गरे ।



प्रतिक्रिया दिनुहोस्