काठमाडौं, १४ कात्तिक । निजामती कर्मचारीहरुमा कोरोना संक्रमण बढीरहेको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार एक हजार भन्दा धेरै निजामती कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । पूर्ण विवरण प्राप्त भइनसकेको तर एक हजार भन्दा धेरैमा संक्रमण भइसकेको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए ।
सेवा दिने कार्यलयका कर्मचारीहरु धेरै संक्रमित भएका छन् । सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरु पनि संक्रमण हुने क्रम बढेको छ । मुख्यसचिव शंकरदास बैरागी आफैं संक्रमित भएकाले आइसोलेसनमा छन् ।
उपत्यकाकासहित सेवा दिने अधिकांश कार्यालयहरु फुलपातीदेखि नै बन्द भएकोमा कहिलेदेखि सेवा सुचारु गर्ने टुंगो लागेको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमा समेत बिहीबार संक्रमण देखिएको छ । उपत्यकाका धेरे जसो मालपोत, यातायात कार्यालय बन्द छन् । जिल्ला प्रशासन र वडा कार्यालयले पनि अत्यावश्यक मात्र ुसेवा दिएका छन् ।
सरकारले सबै निजामती कर्मचारीको कोरोना बीमा गर्ने निर्णय गरेको थियो । सम्बन्धित कार्यालयले नै बीमा गर्न परिपत्र भएपनि कतिपय कार्यालय आफ्ना कर्मचारीको बीमा नगरेको पाइएको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले बताए ।
१४ दिन बिदादिने तयारी
कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने सरकारले तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिन लागिएको हो ।
कर्मचारीमा संक्रमण हुने क्रम बढ्दै गएको उपचारको समयमा छुट्टै विदाको माग हुन थालेपछि संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो ।
निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी विदा पाउँछन् । तर, कोरोना संक्रमण भएको बेलालाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको हो । ‘कोरोना संक्रमित कर्मचारीलाई बिदा दिनेबारे गृह र स्वामुस्थ्य मन्त्रालयसँग छलफल चलिरहेको छ,’ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीले भने,‘यससम्बन्धि प्रस्ताव हाम्रो मन्त्रालयले अघि बढाउने कि गृह मन्त्रालयले भन्ने टुंगो लागिसकेको छैन ।’
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले यसबारे छलफल भएको र कर्मचारीसँग सम्बन्धित विषय भएकाले सङ्घीय मामिला मन्त्रालयले यससम्बन्धि प्रस्ताव मन्त्रिपरिषद् लैजान उचित हुने राय दिइएको बताए ।
यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । संक्रमित कर्मचारीको हकमा पनि त्यस्तै निर्णय गर्न लागिएको छ ।