काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दश दिनयताको संवादहीनता अन्त गर्ने प्रयास घनिभूत भएको छ । ओलीको दूत बनेर खुमलटारमा गएको तीन दिनमा चारजना नेताहरुले पनि आइसब्रेक गर्न सकेका छैनन् ।
शुक्रबार विहानै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका छन् । उनले ओलीको सन्देश प्रचण्डसमक्ष पुर्याएको बुझिएको छ । तर, प्रचण्डले बालुवाटार धाउने पक्षमा नभएको सन्देश दिएको बुझिएको छ । उनले विगतको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । विशेषगरी कर्णाली प्रदेशको विवाद, पर्सामा मुकेश चौरसिया हत्याको विषय, राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठनका विषयमा उनले असहमति व्यक्त गरेको बुझिएको छ ।
यसअघि बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । उनले प्रचण्डको असन्तुष्टिबारे कुरा गरेका थिए ।
बुधबार महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि खुमलटार पुगेर प्रचण्डसँग कुराकानी गरेका थिए । दुवैले ओली र प्रचण्डबीचको संवादको वातावरण बनाउने प्रयास गरेका थिए ।