काठमाडौं, कार्तिक १५ । नेपाली कांग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औं महाधिवेशनको तयारी एकदमै सुस्त देखिएको छ । महाधिवेशन सम्पन्न गर्न समायोजन र क्रियाशील सदस्यता वितरण कार्यलाई सबैभन्दा पहिला टुङ्गो लगाउनुपर्नेमा तोकिएको समयमा कुनै पनि काम सकिएका छैनन् ।
त्यसका अतिरिक्त महाधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपर्ने खाँचो केन्द्रीय सदस्यहरूले औँल्याउँदै आएका छन् । त्यसका लागि शीर्ष तहमा सहमति जुटाउन कात्तिक १७ गते पदाधिकारी बैठक र २१ गते केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
समायोजन अझै बाँकी
तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते सहमति भए पनि अहिलेसम्म एकता प्रक्रिया टुङ्गोमा पुगेको छैन । समायोजन नसकिएका जिल्लामा क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु हुँदैन । समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म थियो ।
क्रियाशील सदस्यता वितरण जारी
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सम्पर्क गरिएका २५ जिल्लामा क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ वितरण गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए । अन्य जिल्लामा सम्पर्क गरेर विवरण लिने कार्य जारी रहेको उनको भनाइ छ ।
प्रदेश १ का १४ जिल्लामध्ये मोरङबाहेक १३ जिल्लामा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गर्ने कार्य लगभग सकिएको छ । मोरङ जिल्लामा भने कोभिड–१९ को असर बढी परेका कारण अझै बाँकी छ । ती जिल्लाबाट फाराम पनि फिर्ता आउने क्रम सुरु भएको छ । यसैगरी बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोकमा समायोजनकै कार्य बाँकी रहेको छ भने अन्य जिल्लामा क्रियाशील सदस्यता वितरण गर्ने कार्य भइरहेको छ ।
पदाधिकारी बैठक बस्दै
कात्तिक २१ गते तय भएको केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि १७ गते पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यसहितका २०–२२ जना नेताको शीर्ष बैठक बस्ने भएको छ । त्यो बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले संयुक्त रूपमा सभापति शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्रका बारेमा छलफल हुने छ ।
असोज १२ गते सभापतिलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा पार्टीको विधान, आचारसंहिता तथा सभापतिले स्थापित गरेको परम्परा स्वयंले स्मरण र आत्मसात् गर्नु जरुरी रहेको उल्लेख छ ।गोरखापत्र दैनिकबाट