काठमाडौं, १५ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गोयलले गरेको शिष्टाचार भेटवार्तालाई लिएर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेको टिप्पणी गलत भएको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भने,भीम रावलको के कुरा गर्नु, उहाँको स्वभाव नै त्यो हो । तर, प्रवक्ताको टिप्पणी गलत छ । उहाँ पार्टीको प्रवक्ता हो । उहाँले पार्टीको कुरा बोल्ने हो । उहाँले व्यक्तिगत कुरा बोल्न पाईँदैन् । उहाँले व्यक्तिगत कुरा राख्ने हो पार्टीको प्रवक्ता पद छोड्नुपर्छ ।’