Logo

ट्याङ्की रित्तै, कसरी धुने हात ?



काठमाडौं, कार्तिक १८। कोरोना महामारीबाट बच्न ठाउँ ठाउँमा हात धुन भनेर पानी ट्याङ्की राखिए, धारा पनि जडान गरिए र तस्बिर पनि खिचिए । अनि खानेपानी मन्त्रालयले विश्व हात धुने दिवस मनाउन अपिल गर्दै एकमहिने अभियानसमेत सुरु ग¥यो । अभियान सकियो तर समस्या भने जस्ताको तस्तै छ ।

हात धुन राखिएका पानी ट्याङ्कीमा पानी छ कि छैन भनेर न कसैले चासो राख्यो न त अभियानकर्ताले सार्वजनिक क्षेत्रमा राखिएका पानी ट्याङ्कीमा हात धुने प्रयास नै गरे । सायद हात धुन कोही आएको भए आज राजधानीका मुख्य भागमा राखिएका पानी ट्याङ्की रित्तै हुने थिएनन् र बेसिनमा फोहोर जम्मा हुने थिएन ।

नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको गेटसँगै बस, माइक्रो रोकिने स्थानमा पाँच हजार लिटरको पानी ट्याङ्की धाराविहीन र उपयोगविहीन अवस्थामा छ । माछापुच्छे« बैङ्क लिमिटेडको सहयोगमा महानगरीय प्रहरी
कार्यालय रानीपोखरीले राखेको सो ट्याङ्की कहिल्यै उपयोगमा नआएको छेउमै व्यापार गर्ने दुर्गा खवासले जानकारी दिए । “महामारीबाट बच्न साबुनपानीले हात धुनु भन्छन् तर ट्याङ्की राखेदेखि नै पानी छैन ।

तीनवटा धारा, सडकपट्टि ढल निकासमा पानी झर्ने गरी राखेका थिए, ती टुटी पनि छैनन् अहिले, कताको पानी, कताको साबुन । टुटी उखेलिएका धारामा केले हात धुनु र रु उल्टै यत्रो ट्याङ्कीको बिजोग देख्नुपरेको छ ।” खवासले बताए ।
खुलामञ्च सँगैको अस्थायी बसपार्क, जहाँ हरेक दिन विपन्नलाई दानवीर तथा मनकारीले खानासमेत खुवाउँछन् । खाना खुवाउने ठाउँमै दुई सय लिटरको कालो ट्याङ्की छ । त्यो ट्याङ्की पनि पानीविहीन छ ।

उपयोगमा नआएर बेसिनमा कागजका प्लेट लगायतका फोहोर भरिएका छन् । त्यसकै विपरीत पेटीमा कुनै संरचनासमेत नबनाई भुइँमा राखिएको त्यति नै क्षमताको पानी जाने ट्याङ्कीको बिर्को खोलेर हेर्दा एक थोपा पानी थिएन । त्यस्तै शान्ति वाटिकाको गेटनिर पनि बस, माइक्रो रोकिने स्थानमै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाराजगञ्जले ट्याङ्कीमा कोरोना सङ्क्रमणबाट हात धुन अनुरोध सहितको सूचनासमेत लेखेर राखेको हरियो रङको ट्याङ्की पनि पानीविहीन छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नजिक राखिएको ट्याङ्कीसमेत रित्तो अवस्थामै देखियो ।
राजधानीको नयाँ सडक, रत्नपार्क क्षेत्रमा बसपार्क, ठूला सपिङ मल, होलसेल बजार महाबौद्ध, अस्पताल, असन बजार लगायतका कारण प्रतिदिन लाखौँ मानिसको आवागमन हुने स्थान हुन् । हरेक दिन सार्वजनिक हुने कोरोना सङ्क्रमितको सङ्ख्या अनुसार यस महामारीबाट उपत्यकामै बसोबास गरिरहेका नागरिक बढी पीडित भएको देखाउँछ । हात धुन बनाइएका ती संरचना सुचारु गराउन ध्यान नपुगेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्