काठमाडौं, १८ कार्तिक । पूर्व परराष्ट्रमन्त्री तथा वरिष्ठ कुटनीतिज्ञ रमेशनाथ पाण्डेलाई जापान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा पुर्याएको योगदानका लागि अर्डर अफ दी राईजिङ सनबाट विभूषित गर्ने भएको छ। सन् २०२० का लागि यो विभूषण पाउने विदेशी नागरिकको सूचीमा पाण्डे पनि समावेश रहेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ। नेपाल-जापान सम्बन्ध बलियो बनाउन पुर्याएको योगदानका लागि पाण्डेलाई उक्त विभूषण प्रदान गर्न लागिएको दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। पाण्डेले ‘अर्डर अफ दी राइजिङ सन’ पाउनेछन्।
‘अर्डर अफ दी राइजिङ सन’ जापान सरकारले दिन थालेको पहिलो विभूषण हो। जापानले विदेशी नागरिकलाई वर्षको दुईपटक यो अवार्ड प्रदान गर्ने गर्दछ। पाण्डे पर्यटन मन्त्री रहेका बेला सन् १९८६ मा सगरमाथा आरोहण गरेका जापान-नेपाल-चीनसहित त्रिदेशीय टोलीलाई उनले सहयोग गरेको दुतावासले जनाएको छ। नेपालको भ्रमण गर्ने पहिलो जापानी नागरिक रहेका एकाई कावागुचीको तस्विर टिकटमा टाँस्न पाण्डे सन्चार मन्त्रि भएका बेला सुरु भएको थियो । तस्विर : निश्चलनाथ पाण्डेको ट्विटरबाट