Logo

कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ



काठमाडौं, कार्तिक १९ । नेपाली कलाकारहरूले कोरोना भाइरस खेलाची गर्ने रोग नभएको बताएका छन्। कोरोना सङ्क्रमणबाट पीडित बनिसकेका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफु नै सुरक्षित भएर बस्नुपर्ने सुझावसमेत दिएका छन् ।

“यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।” कोरोना सङ्क्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले बताएका छन् । दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएका उनले सबैलाई सचेत हुन आग्रह गरेका छन् ।

कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामापनि घरमा एकान्तबासका साथै अस्पतालमा समेत उपचारका लािग बस्नुपरेको बताउँन्छन् । “थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो ।” उनले भने, “मैले हरेक दिन कोरोनासँग लडिरहेँ । अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर सङ्घर्ष गरेर जितेँ ।”
यसैगरी आफ्नै घरमा एकान्तबास बसिरहका हास्य कलाकार मनोज गजुरेलले आफुमा कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भएको स्वीकारेका छन् । सङ्क्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने भएकाले सचेत रहनसमेत उनले आग्रह गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्